उमाकुण्ड गाउँपालिका–७, भूजीको नमुना काम

| असार २७, २०८३ शनिबार

A A A
A A A

२७ असार, रामेछाप । विगतमा दुर्गम क्षेत्रको पहिचान बोक्न बाध्य उमाकुण्ड गाउँपालिका–७, भुजी बिस्तारै सुगम बन्ने दौडमा छ । पालिकाका अन्य वडा जस्तै यस वडामा पनि बिस्तारै आधारभूत पूर्वाधारका कामहरू धमाधम निर्माण भइरहेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ सहित कृषि उत्पादन वृद्धि गर्न राज्यले वर्षौनी लगानी गर्दै जाँदा अपेक्षित रूपमा परिवर्तन नभए पनि विगतको तुलनामा बिस्तारै परिवर्तन भइरहेको स्थानीयहरूको अनुभव छ ।
 

‘पहिलेको भन्दा धेरै सहज हुँदै छ, सडक बनेको छ । पालिका जान समस्या छैन । शिक्षालाई हेर्ने हो भने राम्रा भवनहरू बनेको छ तर विद्यार्थी घट्दो छ । अझ भन्ने हो भने युवा जति छन् उनीहरूमा पढ्नु पर्छ भन्ने जाँगर कम देख्छु म’ कास्थेम माविका प्रधानाध्यापक दिनेश कुमार सुनुवारले भने । 
 

विशेष गरी गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वयन गर्दै जाँदा पहिलेको तुलनामा धेरै सहज बन्दै गएको वडावासीको अनुभव छ । जिल्लालाई मात्रै हेर्ने हो भने पनि अन्य ६३ वटा वडा जस्तै यो वडा पनि विनियोजित बजेट र स्थानीयहरूबाट माग भए बमोजिमका काम गर्न फुर्सद पाउँदैन । 


वडा कार्यालयमा तयार पारिएको वडाका नागरिकहरको विवरण सुरक्षित गरिएको दराज

तितो यथार्थ भन्ने हो भने, यसमा जनप्रतिनिधिको मात्रै पनि भूमिका छैन । किनकि, अधिकांश योजना वडा बासीकै माग र आवश्यकताको आधारमा सञ्चालन हुँदै आएको वडाको तथ्याङ्कले पुष्टि गर्दछ । खेत सिँचाइ संरक्षण, सिँचाइ कुलो, वाल, मन्दिर, गुम्बा, चर्च, क्याबिन निर्माण गर्ने देखि सडक ढलान, नयाँ ट्याक खोल्ने, सोलिङ र मर्मत जस्ता कार्य ले नै प्राथमिकता पाउँदै आएको छ । त्यसमा वडाका स्थानीयहरूले प्रत्यक्ष काम पाउने भएर पनि हुन सक्छ, अचकल सबै नागरिक योजना माग्न जुनसुकै हद सम्म पनि जान सक्ने देखियो । सानै भए पनि आफूले मागेको सुविधा सम्बन्धित क्षेत्रबाट नपाए व्यक्तिगत इगो नै साँधेरै स्थानीय नागरिकहरू सार्वजनिक र सामाजिक संजलाम सम्म आक्रोश पोख्न भ्याइहाल्छन् । त्यसैले पनि वडा कार्यालयमा माग गरेका योजना नदिने छुट छैन वडालाई । 
 

यी र यस्ता कार्यहरूबाट नागरिकलाई भुल्याउँदै वडा कार्यालय भूजीले अर्को दीर्घकालीन फाइदा बोकेको काम सम्पन्न गरेको छ । ०७४ मा पहिलो पटक वडा अध्यक्ष निर्वाचित भएर जनप्रतिनिधिको कुर्सीमा बसेपछि कागजी त्रुटिको कारण कानुनी उल्झनमा परेर सचेत बनेका वडा अध्यक्ष रुद्र मणि नेवारले पुनः ०७९ को निर्वाचनमा अध्यक्ष बनेपछि वडा बासीको तीन पुस्ते दस्ताबेज तयार पारेका हुन् । वडा भित्रका ७०१ घरधुरीका सबै नागरिकहरूको ‘तीन पुस्ते’ विवरण अब वडा कार्यालयमा सुरक्षित गरी सकिएको वडा अध्यक्ष नेवारले बताए । 

एआएको सहयोगमा तयार पारिएको तस्बिर । 


केही समय अगाडि देखि आफ्नै पक्की भवनबाट सेवा प्रदान गर्दै आएको यो वडाले वडावासीको सबै घर समुन्द्री सतह देखि कति उचाइमा रहेको विवरण देखि परिवारको संख्या, रोजगारीको अवस्था, परिवारका सदस्य को, कहाँ र के गर्दै छन् जस्ता महत्त्वपूर्ण विवरण एक परिवार एक फाइल खडा गरेर तयार पारिएको वडा अध्यक्ष नेवारले स्पष्ट पारे । ‘अब हाम्रो वडाका वडा बासीले कसैलाई झुक्क्याउन सक्ने छैनन्, हामीसँग प्रत्येक वडाका नागरिकहरूको सबै विवरण सुरक्षित छ।’
 

बुन्देल डाँडामा बनेको तीन तले पक्की भवनको एउटा पुरै कोठालाई सुरक्षित दस्ताबेजको संग्राहलयको रूपमा तयार पारेको देखाउँदै वडा अध्यक्ष नेवारले भने ‘अब जो वडा अध्यक्ष बनेर आए पनि हाम्रो यो विवरणले नागरिकलाई जे चाहिएको हो त्यो विवरण उपलब्ध गराउन सक्छौँ ।’
 

भौतिक विकासको मात्रै आशा र लाल्चामा लालहित जनताले केही गरेनन् भनेर आलोचना हुने गरे पनि आफूहरूले वडावासीको हितको लागि सक्ने काम गरिरहेको दाबी गर्दै वडा अध्यक्ष नेवारले थपे ‘अब हामीले यो १० वर्षमा के–के गर्‍यौँ भनेर जनताकै घर–घर पुगेर भन्छौँ हामीले यी काम गरेका छ।’
 

स्थानीय सरकारले मात्रै नागरिकले खोजेको परिवर्तन गर्न नसक्ने बताउँदै तीनै तहका सरकारको एक मत भए मात्रै काम गर्न सकिने उनको तर्क छ । जिल्लाकै केही वडाहरूमा कार्यालय भवन नै बन्न नसकेको अवस्थामा आफूहरूले भवन निर्माणसँगै भुईँ तहको सरकारले गर्नै पर्ने मुख्य जिम्मेवारीको काम सम्पन्न गर्न सकेको भन्दै वडा अध्यक्ष नेवारले खुसी व्यक्त गरे । 

मिलन घिमिरे (बि क)
| असार २२, २०८३ सोमबार