गुप्तेश्वरका ज्येष्ठ नागरिकलाई सिरक र विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
२१ असार, रामेछाप । जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ६, गुप्तेश्वरले ज्येष्ठ नागरिक र बालबालिकालाई सम्मान गरेको छ । वडा भित्रका ७० वर्ष भन्दा माथि उमेरका १५० जना (सबै) ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (फाइबर सिरक) हस्तान्तरण गरिएको वडा सचिव प्रियंका कुमारी चौधरीले रामेछाप टाइम्सलाई बताइन् ।
‘हामीले ७० वर्ष भन्दा माथि उमेरका सबै ज्येष्ठ नागरिकहरूलाई चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत फाइबर सिरक प्रदान गरेर सम्मान गरेका हौँ’ सचिव चौधरीले रामेछाप टाइम्ससंग भनिन् ।
आइतबार वडाका अध्यक्ष भरतराज खड्काले चालु आर्थिक वर्ष २०८२÷०८३ को कूल २ लाख बजेटबाट खरिद गरिएका १५० वटा फाइबर सिरक प्रदान गरेका हुन् । वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई खादा माला लगाएर सिरक दिएपछि वृद्धहरू हर्षित भएका छन् ।
उनका अनुसार ७० वर्ष भन्दा माथि उमेर समूहका वृद्धवृद्धाहरुसहित ‘क’ वर्ग अपाङ्गता भएका व्यक्तिहरूलाई चिसोबाट बचाउन न्यानो कपडा सिरक प्रदान गरिएको हो । धेरै ठाउँमा गर्मी बढिरहेको भए पनि यो पालिकामा भने मौसम सामान्य (चिसो) नै छ ।
त्यस्तै वडाले चालु आर्थिक वर्षको बजेटमा वडा भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गर्ने योजना अनुसार भोलि सोमबार वडा भित्रका कक्षा ८,५ र १२ गरी सञ्चालनमा रहेका ३ विद्यालयका १–१ जना विपन्न छात्रा,छात्रसहित ५ जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी रहेको वडा सदस्य विमाया रसाइलीले बताइन् ।
भोलि बालबालिकाहरूलाई प्रतिविद्यार्थी १५ वटा कपी, ब्रस, साबुन लगायतका सामाग्री वितरण गर्ने तयारी भइरहेको उनको भनाई छ ।
