राष्ट्रिय कृषि आधुनिकीकरणले ५० प्रतिशत अनुदानमा वितरण गर्यो उन्नत जातका बोका
०८ असार, रामेछाप । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापले ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका बोका–पाठी वितरण गरेको छ । चालु आर्थिक वर्षको निर्धारित कार्यक्रम अन्तर्गत किसानबाट भएको माग बमोजिम बोका–पाठी वितरण गरिएको कार्यालयले जनाएको छ ।
सोमबार मन्थली नगरपालिकासहित खाँडादेवी र सुनापति गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस र जामुना पारी क्रस जातका बोका÷पाठी ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । केही समय अगाडि कार्यालयले किसानहरूलाई एक सूचना मार्फत माग गर्न गरेको आग्रह एवं सहकार्यमा किसानले माग गरेका बोका वितरण गरी नश्लसुधारमा टेवा पुर्याउन सहयोग गरेको कार्यालयका प्रमुख राजन परियारले जानकारी दिए । ‘हामीले किसानहरूबाट आएको माग अनुसारै उन्नत जातका बोका बाँडेका हौँ ।’
मन्थली भैसेश्वर स्थित सुनौलो बाख्रा पालन फर्मबाट जिल्ला समन्वय समिति उपप्रमुख प्रेमबहादुर थापाले किसानहरूले ‘चिट्ठा’ मार्फत रोजेका बोका वितरण गरेका हुन् । बोका वितरण गर्दै उपप्रमुख थापाले कार्यालयले किसानहरूसँग जोडिएर उनीहरूको आय आर्जनमा सहयोग गर्दै बोका, बाख्रा उत्पादन वृद्धि गर्यो कार्य गर्नु प्रशंसनीय रहेको उल्लेख गरे ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापले मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकालाई बाख्रा जोन क्षेत्र निर्धारण गरी विविध कार्य गर्दै आएको छ । विगतका वर्षहरूमा पनि यो कार्यालय मार्फत दर्जनौँ किसानहरूले उन्नत जातका बोका, पाठी लगी सकेका छन् । उन्नत जातका बोका, पाठी पालनबाट छोटो समयमा राम्रो आम्दानी गर्न सकिने बाख्रा पालक किसान योगेन्द्र श्रेष्ठले बताए ।
यो वर्ष कार्यालयको तालिका अनुसार ढिलो गरी बाख्रा वितरण गरिएकोमा गुनासो गरेका बाख्रा पालक किसानहरूले आगामी वर्षदेखि माघ महिना अघाबै वितरण गर्नु पर्ने माग गरेका थिए । सो विषयमा कार्यालयको ध्यानाकर्षण भएको राष्ट्रिय आधुनिकीकरण कार्यालय प्रमुख परियारले बताए ।
