रामेछापलाई चिनाउन राष्ट्रिय फोटो पत्रकारको निरन्तर फोटो प्रदर्शनी

| बैशाख १३, २०८३ आइतबार

A A A
A A A

१३ वैशाख, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा रामेछापले रामेछापको पर्यटन प्रचारप्रसारलाई टेवा पुर्‍याउने फोटो प्रदर्शनी सम्पन्न गरेको छ । आइतबार ९९ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर मन्थली नगरपालिकाको प्राङ्गणमा जिल्ला भित्रकार प्रमुख धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरेको हो । 

 

२०८० साउन ०६ गते जिल्लामा शाखा विस्तार भए यता यहाँको पर्यटन प्रवर्द्धन गर्न तेस्रो पटक फोटो प्रदर्शनी गरेको समूहले जिल्लाकै चर्चित खाँडादेवी मन्दिर, पाँच पोखरी, जटा पोखरी, शैलुङ्, तारा खसेपोखरी, घ्यापचेको पहिरो, शैलुङ, बाम्तिभण्डार, गुम्देलसहितका उच्च पर्यटकीय सम्भावना बोकेका ३० वटा स्थानका फोटो प्रदर्शनी गरिएको हो । समूहले यस अगाडि पनि जिल्लाको पर्यटन प्रवर्द्धनको लागि जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली पार्क र आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन भइरहने फ्रिडम रिसोर्ट प्राङ्गणमा फोटो प्रदर्शनी गरी सकेको थियो । 

 

रामेछापमा रहेका तर चर्चा र प्रचार पाउन नसकेका स्थलहरूलाई चलायमान बनाउँदै यहाँको आर्थिक र सामाजिक रूपमा टेवा पुर्‍याउन सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न निकायको सहयोगमा आगामी दिनमा पनि वृहत् फोटो प्रदर्शनी कार्यक्रम गर्ने बारेमा योजना रहेको संस्थाका सचिव राजन महताराले बताए । 

 

जिल्लाकै मुख्य प्रशासनिक केन्द्र कै रूपमा स्थापित मन्थली नगरपालिका प्राङ्गणमा गरिएको फोटो प्रर्दशनीयले राष्ट्रिय फोटो पत्रकारिता दिवसलाई विशेष अर्थ पूर्ण र सार्थकता पाएको अवलोकन पछि स्थानीय अगुवा गोविन्द प्रसाद घिमिरेले धारणा राखे । 

फोटो नै पछिल्लो परिस्थितिको सबै भन्दा बलियो प्रमाण र तथ्यको रूपमा स्थापित हुँदै गएकाले फोटो पत्रकारहरूले जिल्लामा यसरी महत्त्व दिएर प्रचारप्रसारसँगै अगाडि बढ्दा सकारात्मक सन्देश दिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले धारणा व्यक्त गरे । 

मन्थलीका व्यापारी, बुद्धिजीवी लगायत शिक्षक, अगुवा, विद्यार्थीहरू समेले अवलोकन गरिएको उक्त प्रदर्शनीले जिल्लाका केही महत्त्वपूर्ण स्थानहरूको प्रचारमा इँटा थप्ने काम गरेको जिल्ला अध्यक्ष मिलन घिमिरेले विश्वास व्यक्त गरे ।