चालु वर्षको भन्दा घट्यो मन्थली नगरको बजेट: १ अर्ब ३ करोड २० लाखको बन्दा पूर्वाधारमा २४ करोड ४१ लाख (पूर्णपाठ)

| असार ९, २०८३ मंगलबार

A A A
A A A

०९ असार, रामेछाप । आगामी आर्थिक वर्षको लागि जिल्लाकै सबै भन्दा अगाडि बजेट घोषणा गरेको मन्थली नगरपालिकाले १ अर्ब ३ करोड बढीको बजेट घोषणा गरेको छ । जसमा चालु तर्फ ७४.०३ प्रतिशत र पुँजीगत तर्फ २५.९७ प्रतिशत बजेट विनियोजन गरेको उपप्रमुख ईश्वरी बस्नेतले उद्घोष गरिन् । 

 

सोमबार नगरपालिकाको १९ औं अधिवेशनबाट बजेट सार्वजनिक गर्दै उपप्रमुख बस्नेतले आगामी आर्थिक वर्षको लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँको बजेट प्रक्षेपण गरिएको जानकारी गराइन् । नगरपालिकाले चालु वर्षको बजेट भन्दा घटाएर बजेट घोषणा गरेको छ । चालु वर्ष १४ वटा वडा रहेको नगरपालिकाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजारको बजेट कार्यान्वयन गरेको थियो । 

उपप्रमुख बस्नेतले बजेट सार्वजनिक गर्दै आगामी वर्षको लागि प्रक्षेपण गरिएको बजेट मध्ये अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ७५ करोड ९२ लाख ४६ हजार, संघीय सरकारबाट रु ६७ करोड ५२ लाख र प्रदेश सरकारबाट रु ८ करोड ४० लाख ४६ हजार प्राप्त हुने अनुमान गरिएको उल्लेख गरिन् ।


त्यस्तै संघीय सरकारबाट समानीकरण अनुदानबाट रु १८ करोड ८३ लाख, सशर्त अनुदान चालुको रु ४४ करोड ९३ लाख, विशेष अनुदान पुँजीगतको रु १ करोड ७२ लाख तथा समपूरक अनुदान पुँजीगत रु २ करोड ४ लाख प्राप्त हुने अनुमान गरेको सभामा उपप्रमुख बस्नेतले उद्घोष गरिन् । 

माथिल्ला निकायबाट प्राप्त हुने स्रोतलाई पर्याप्त स्थान दिइएको बजेट वक्तव्यमा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको रु १ करोड ८१ लाख २४ हजार, सशर्त अनुदान चालुको रु ३ करोड ३९ लाख २२ हजार, सशर्त अनुदान पुँजीगतको रु। ५० लाख विशेष अनुदान चालुको रु। ७० लाख तथा समपूरक अनुदान पुँजीगतको रु २ करोड प्राप्त हुने अनुमान गरेको जानकारी गराइन् । नगर संचालन गर्न ठुलो लागत खर्च हुँदै आएको र विकास बजेट न्यून मात्रै छुट्टिने बाध्यतामा परेको आरोप खेप्दै आएको यो नगरपालिकाले आन्तरिक स्रोत, राजस्व बाँडफाँड, अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुदान र जनसहभागिता समेत गरी नगरपालिकाको कुल बजेट रु १ अर्ब ३ करोड २० लाख १५ हजार हुने अनुमान बताइएको हो ।

 

२०७९ सालमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले सार्वजनिक गर्ने अन्तिम एवं विशेष महत्त्व बोकेको यो बजेटले विनियोजन गरिएको मध्ये ५७.१३ प्रतिशत चालुतर्फ र ४२.८७ प्रतिशत पूँजीगतर्फ विनियोजन गरेको उपप्रमुख बस्नेतको भनाई छ । 

 

पूर्व शिक्षिका समेत रहेकी उपप्रमुख बस्नेतले घोषणा गरेको बजेटमा कुल बजेट मध्ये सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको लागि २ प्रतिशत अर्थात् रु १ करोड ७१ लाख २७ हजार, कार्यालय सञ्चालनमा १६ प्रतिशत अर्थात् रु १६ करोड ९३ लाख ९ हजार, आर्थिक विकासमा ४ प्रतिशत अर्थात् रु ३ करोड ८६ लाख २३ हजार, सामाजिक विकासमा ५५ प्रतिशत अर्थात् रु ५६ करोड २७ लाख ६१ हजार र पूर्वाधार विकासमा २४ प्रतिशत अर्थात् २४ करोड ४१ लाख ९२ हजार छुट्टाएको उद्घोष गरिन् । 

 

कुन शीर्षकमा कति बजेट 

  • पशुपंक्षि विकासको लागि – १ करोड २ लाख ३३ हजार ५ सय 
  • उद्यम विकासको लागि – ४२ लाख ५० हजार 
  • राष्ट्रिय रोजगार तथा सुरक्षित आप्रवासन कार्यक्रमका लागि – १९ लाख ४० हजार 
  • पर्यटन तथा धार्मिक स्थलहरूको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि – १२ लाख बजेट 
  • उत्कृष्ट सहकारी सम्मान, प्रोत्साहन तथा अनुगमन – ८ लाख ५० हजार 
  • सिचाईका लागि – २८ लाख बजेट
  • स्वास्थ्य सेवाका लागि – १५ करोड १३ लाख बजेट
  • पूर्वाधार विकासको लागि – २४ करोड ४१ लाख ९२ हजार ८२१ रुपैयाँ बजेट 
  • कानुन तथा न्यायका लागि –१८ लाख बजेट विनियोजन