प्रदेश स्तरीय ‘चेस क्लासिकल प्रतियोगितामा’ रामेछापकी श्रेष्ठ तेस्रो
०८ असार, रामेछाप । बागमती प्रदेश स्तरीय ‘चेस’ प्रतियोगितामा रामेछापले कांस्य पदक हात पारेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गरेकी रामेछापकी ओज्वासी श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै पदक जितेकी हुन् ।
गएको बिहीबार देखि आइतबार सम्म हेटौँडामा सम्पन्न खेलमा महिला तर्फबाट प्रतिस्पर्धा गरेकी श्रेष्ठले बागमती प्रदेश खेलकुद–२०२६ अन्तर्गत आयोजित ‘चेस क्लासिकल प्रतियोगितामा’ खेलाडी ओज्वासीले उत्कृष्ट क्षमता प्रदर्शन गर्दै तेस्रो बनेको कर्ण श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार प्रतियोगिताभर उत्कृष्ट रणनीति, धैर्यता र प्रतिस्पर्धी विरुद्ध आक्रामक योजना अघि सार्दै उनले नगद सहित ट्रफि र मेडल हात पारेकी हुन् ।
जिल्लाबाट प्रदेश स्तरीय चेसमा प्रतिस्पर्धा गर्न जिल्ला अध्यक्ष एवं अधिवक्ता सौजन्य प्रसाद सत्यालसहित ओज्वासी श्रेष्ठ, सोकिला सत्याल,कर्ण श्रेष्ठ र विनोद तिम्सिनाले १२ वटा जिल्लाका खेलाडीहरुसंग प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतिस्पर्धिहरुले सुरुवाती नतिजा सुखद निकाले पनि अन्तिम अवस्थामा प्रतिस्पर्धाबाट बाहिरिँदा युवा उमेर समूहकी महिला खेलाडी श्रेष्ठले भने रामेछापलाई चेस प्रतिको सक्रियता देखाएकी हुन् ।

