मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइमा नागरिक सहभागीता न्यून भएपछि हाकिमले भने ‘नगर प्रति सबै सन्तुष्ट भएर हो’

यो ‘आवमा’ नगरको प्रगती ८५.०४ प्रतिशत

| असार २६, २०८३ शुक्रबार

A A A
A A A

२६ असार, रामेछाप । चालु आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले कूल ८५‍.०४ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रवार चालु वर्षको अन्तिम सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाले चालु वर्षमा गरेको खर्च तथा आम्दानी सार्वजनिक गरेको हो । आम्दानी तर्फ भने नगरपालिकाले लिएको लक्ष्यको शतप्रतिशत काम गर्न सफल भएको नगरपालिकाले भनेको छ। 

 

मन्थली तीनलाल पार्कमा सम्पन्न सार्वजनिक सुनुवाइमा सार्वजनिक गरिएको नगरको वार्षिक विनियोजित १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रकम मध्ये ८९ करोड ४३ लाख ७२ हजार ३१७ रुपैयाँ अर्थात् ८५.०४ प्रतिशत बजेट कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए । जस मध्ये चालु खर्च मात्रै ६६ करोड ४२ लाख ८४ हजार १०६ रुपैयाँ अर्थात् ९०‍.५७ प्रतिशत र पुँजीगत तर्फ रु ३१ करोड ८१ लाख ८६ हजार ३८५ रुपैयाँ अर्थात् ७२.३१ प्रतिशत बजेट खर्च गरिएको नगरपालिकाले भनेको हो । 

 

उनका अनुसार नगरको आर्थिक विकास तर्फ ७५.८८ प्रतिशत, सामाजिक विकास तर्फ ८८.९४ प्रतिशत र पूर्वाधार तर्फ ७३.६८ प्रतिशत बजेट खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नगरको सुशासन तथा आन्तरसम्बन्धित क्षेत्रको खर्च ८४.०४ प्रतिशत गरिएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सबै भन्दा धेरै ९१.२४ प्रतिशत खर्च कार्यालय सञ्चालन एवं प्रशासनिक गरिएको जानकारी दिए । सार्वजनिक तथ्याङ्कलाई केलाउँदा नगरको आधा भन्दा धेरै बजेट प्रशासनिक खर्चमा लगानी भएको देखिन्छ । १४ वटा वडाका विद्यालय देखि स्वास्थ्य संस्था र अस्पताल सञ्चालन नगरको जिम्मेवारीमा थोपरिँदा खर्च बढेको बुझिन्छ । 
 

प्रशासकीय प्रमुख सापकोटाले सार्वजनिक गरेको ८ पृष्ठ लामो ‘प्रगती प्रतिवेधनमा’ पत्रमा नगरपालिकाले चालु आर्थिक वर्षमा गरिएका विभिन्न कार्यलाई उल्लेख गरिएको छ । वर्ष भरी नगरले विभिन्न निकायसँग सहकार्य एवं समन्वय गरेर गरेका कार्यक्रमलाई समेत नगरपालिकाले उपलब्धि एवं प्रगती प्रतिवेदनको रूपमा अर्थ्याएको छ । 

सार्वजनिक सुनुवाइमा नागरिक सहभागीता नभएपछि

चालु आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाइ गरेको नगरपालिकाले प्रहार मिडिया प्रा.लि संगको सहकार्यमा गरेको सार्वजनिक सुनुवाइमा नागरिक सहभागीता न्यून भएपछि राजनीतिक दलहरुले चर्चको आलोचना गरेका छन् । 

 

नेकपाका नेता दीपक प्रसाईले १४ वटा वडा रहेको नगरपालिकाको कार्यक्रममा स्थानीयहरूको सहभागीता नसक्नु दुःखद् भएको भन्दै बजारको बिचको हलमा गरिएको कार्यक्रमको प्रभावकारिता शून्य भएको जिकिर गरे । आक्रोशित हुँदै उनले भने ‘१४ वटा वडा रहेको यो नगरको यो कार्यक्रमको प्रभावकारिता भएन’ नागरिकहरूलाई सहज हुने गरी कार्यक्रम गर्नु पर्ने सुझाउँदै नगरपालिकाले ‘कर्मकाण्डी’ काम गरेको जिकिर गरे । नागरिकहरूको उपस्थिति नहुनुले स्थानीय सरकार प्रति विश्वास नभएको उनको तर्क छ ।

 

स्थानीय सरकारले राम्रो काम गरी नागरिकको विश्वास जित्न सक्नु पर्ने सुझाउँदै ०७९ को निर्वाचनमा मेयरको प्रतिस्पर्धा समेत गरेका प्रसाईले पुराना दलहरुले राम्रो काम गरेर समृद्धिको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड् दिए । उनले असारको व्यस्त समयमा कार्यक्रम राखिनु पनि उपयुक्त नभएको धारणा राखे । 

नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायत वडा नं २,३,४,५,७,८,११,१२, १३ नम्बरका वडा अध्यक्षहरु, केही नगरका कर्मचारी, वडा सचिव र पत्रकारहरूको मात्रै उपस्थिति देखिएको उक्त सार्वजनिक सुनुवाइमा नागरिकहरूको सहभागी नहुनु भन्दा पनि नगरपालिकाको काम प्रति कुनै गुनासो र समस्या नभएकै कारण नआएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई छ । पत्रकार र राजनीतिक दलहरुले प्रश्न गरेपछि जवाफ दिँदै उनले भने ‘उहाँहरू नआएको भन्दा पनि नगरपालिका प्रति कुनै गुनासो नभएर नआउनु भएको हो भन्ने हाम्रो बुझाई छ ।’ 

 

नगरका कर्मचारीहरू गए राति सम्पन्न आर्थिक वर्ष २०८२/०८३ को काम सम्पन्न गरेर रातभर काम गरेकाले पनि सहभागी हुन नसकेको जानकारी गराउँदै ‘हाकिम’ सापकोटाले सार्वजनिक सुनुवाइ हुने सूचना सबै वडा–वडामा  खबर पुर्‍याएको भए पनि जानकारी भए पनि नगर प्रति सन्तुष्ट हुँदा नआएको धारणा राखे ।  
 

तीन जना नगरवासी समेत रहेका सञ्चारकर्मीको मात्रै प्रश्न राखिएको उक्त सार्वजनिक सुनुवाइमा बोल्दै नगर प्रमुख लव श्रेष्ठले नागरिकका आवश्यकतालाई ध्यानमा राख्दै सवैसँग सहकार्य गरी काम गरेकाले सबै काम पारदर्शी रहेको धारणा । उनले नगरमा आर्थिक, सामाजिक विकासको नीतिगत जग बलियोसँग बसाल्ने काम गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ । 

मिलन घिमिरे (बि क)
| असार २२, २०८३ सोमबार