पवित्र तीर्थस्थल उमातिर्थमा कसले गर्यो झारो टार्ने काम, जानकार ब्रामण्ड समूहले मन्थलीमा किन गर्यो यस्तो खबरदारी
दुगर्ड हाइड्रो पावरले धार्मिक स्थलमा प्रहार गरेकै कारण ठुलो क्षति ब्यहोर्नु परेको हो !
०२ साउन, रामेछाप । जिल्लाका सरोकारवालाहरूले रामेछापकै ऐतिहासिक एवं हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र ‘उमातिर्थ’को संरक्षणमा ध्यान पुर्याउन नसकेको भन्दै ‘ब्रामण्ड समूह’ चिन्ता व्यक्त गरेको छ । दुर्गड् हाइड्रोपावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाको कारण यो तीर्थस्थल खण्डहर बनाउने काम गरिएको भन्दै आयोजनाको गम्भीर लापरबाही प्रति समूहले असन्तुष्टि पोखेको छ ।
शनिवार मन्थलीमा यहाँका ब्रामण्ड अगुवाले पत्रकारसँग भेटघाट गर्दै लिखुरी र हिमगंगाको त्रिवेणी किनारमा हिन्दु धर्मवालम्बीहरुको अति नै महत्त्वपूर्ण तीर्थस्थल उमातिर्थलाई स्थानीय सरकारले पनि अहिलेको आवश्यकता अनुसार ध्यान पुर्याउन नसकेको ठहर गरेको हो । उक्त छलफलमा स्थानीय सरकारले उमातिर्थ बाटै गाउँपालिकाको नामकरण गर्दा पनि सही तरिकाले नराखेकोमा समेत असन्तुष्टि पोखेका छन् । जानकारहरूले गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले दोस्रो पटक निर्वाचित हुँदाको बखत उमातिर्थ नै राख्ने कुरामा सार्वजनिक प्रतिबद्धता एवं आश्वासन दिएको समेत सुनाए ।
उमातिर्थमा आदिगङ्गा, हिमागङ्गा, ब्रह्मागङ्गा, कौशीकागङ्गा र केदार गङ्गा लगायतका नदीहरूले बहँदै आएकोमा दुगड हाइड्रोपावरसहित विभिन्न जलविद्युत आयोजनाहरूले त्यसको प्राकृतिक र भौतिक वातावरणमा खलल पुर्याउँदै धार्मिक आस्थाको केन्द्रमाथि लात हानेको उमाकुण्ड गाउँपालिका–२, निवासी टंक गौतमले बताए । उनले भने ‘मैले त्यसको संरक्षण र सम्बर्द्धनको निम्ति स्थानीय, प्रदेश र संघ सरकार सम्म धाएँ तर सबैले लात मात्रै हाने ।’ आफूले उमातिर्थको प्रचारप्रसारको लागि उमातिर्थकै नाममा मिडिया समेत सञ्चालन गर्दै आएको सुनाउँदै उमातिर्थमा हाइड्रोको ज्याजति असह्य रहेको जिकिर गरे ।

उमातिर्थिमा मातातिर्थ औँसी, कुशे औँसी र पौषे औँसीमा तिथि अनुसार रोकिएको श्राद्ध खुलाउने, त्यहाँ श्रद्धा गरे पितृले मोक्ष प्राप्त गर्ने धार्मिक जनविश्वास छ । भारतको काँसी गएजी भन्दा उमातिर्थ उत्तम हुने धार्मिक विश्वास रहेको छ । यसरी श्राद्ध र पूजापाठ गर्ने महत्त्व बोकेको स्थलमा जलविद्युत आयोजनाले तर्पण दिन एक थोपा पानी समेत नछोडेकोमा आक्रोश पोख्दै स्थानीय सरकारले आयोजनासँग तत्काल समाधानको बाटो खोज्न त्यस क्षेत्रका जानकार जगन्नाथ दाहाले आग्रह गरे । उनले भने ‘हामी विकास विरोध हैनौँ तर मलाई थाहा छ त्यो ठाउँको बारेमा हामीले पनि प्रचारप्रसार गरी चिनाउन सकेनौँ ।’
पछिल्लो समय करडौं–करोड बजेट हाल्दै विभिन्न ठाउँमा मठ–मन्दिर निर्माण भइरहेकोमा असन्तुष्टि पोख्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका दाहालले भने ‘अचेल धेरै ठाउँमा मन्दिरहरू करडौं लगानीमा बनेका छन् तर उमातिर्थ जस्तो पवित्र महत्त्व बोकेको स्थलको प्रचार गर्न हामी कसैको ध्यान पुगेको छैन।’ स्थानीय सरकारले उमातिर्थ मन्दिर सम्म जाने सडक पूर्वाधार निर्माण गरी त्यसको प्रचारप्रसार गर्न सके उमातिर्थि जिल्लाकै चर्चित र धार्मिक पर्यटकीय स्थल बन्ने दाहालको विश्वास छ । आफू लामो समय त्यस क्षेत्रमा शिक्षकको रूपमा बस्दा उमातिर्थको तथ्यगत विषयमा जानकार भएको बताउँदै विभिन्न जिल्लाबाट पितृ मोक्षको लागि त्यहाँ पुग्नेहरूको लाइन लाग्ने गरेको उनको भनाई छ । विगतमा जनैपूर्णमा, बालचतुर्दशी र एकादशी लगायतका विशेष पर्वहरूमा भक्तजनहरूको लर्को लाग्ने गरेको स्मरण गर्दै दाहालले भने ‘नयाँ–नयाँ मन्दिर खडा गरेर पूजा पाठ गर्नुको साटो यस्ता ऐतिहासिक ठाउँ चिनाऊँ।’
पछिल्लो समय उमातिर्थि मन्दिर लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनाको कारण खण्डहर जस्तै अवस्थामा छ । त्यहाँ न त पूजापाठ गर्ने राम्रो ठाउँ नै छ । न त हिउँदको समयमा नदीमा पानी नै बग्छ । आयोजनाहरूले नियम अनुसार छाड्नु पर्ने पानी समेत खोलामा नछाड्दा त्यहाँ पूजा पाठको लागि पुग्ने भक्तजनहरू निराश बनेर फर्किन थालेको स्थानीयहरूको गुनासो छ । पवित्र धार्मिक स्थललाई खण्डहर बनाउने काम जलविद्युत आयोजनाकै भएको पत्रकार भेटघाटले ठहर गरेको हो ।
उक्त छलफलले उमाकुण्डका गाउँबस्तिमा केही दिन अगाडि लिखुमा एक्कासि आएको बाढीले दुगर्ड हाइड्रोको ड्यामसहितको संरचना ध्वस्त हुँदा स्थानीयहरू खुसी भइरहेको चर्चा हुँदा धार्मिक स्थलमा दुगर्डको लापरबाहीको कारण त्यस्तो क्षति भएको समेत आशङ्का गरियो । गएको आर्थिक वर्ष २०८२/०८३ मा रामेछापको उमाकुण्ड गाउँपालिका र सोलु खुम्बुको लिखु पिके गाउँपालिकाले सो धार्मिक स्थलको संरक्षण गर्नु पर्ने भन्दै संयुक्त लगानीमा संरक्षण कार्य अगाडि बढाएका थिए ।

दुई गाउँपालिकाको १–१ लाख लागतमा साँझदारीमा केही वर्ष अगाडि निर्माण गरिएको मन्दिरको संरक्षण र सौन्दर्यको लागि गत आर्थिक वर्ष २०८२/०८३ मा काम गरिएकोमा उक्त काम पनि गुणस्तरको नभएको भन्दै गाउँपालिकाले १ लाख ३६ हजार मात्रै भुक्तानी गरेको छ । उपभोक्ता समितिले गरेको काम पुराना रड र जाली प्रयोग गरी ‘झारो टार्ने’ काम मात्रै गरिएको भन्दै स्थलगत अनुगमनमा पुगेको दुई गाउँपालिकाको संयुक्त अनुगमन टोलीले खबरदारी गरेपछि भुक्तानी समेत रोकिएको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको छ ।
चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले उमातिर्थि मन्दिरको संरक्षण र पवर्द्धनको लागि भन्दै १० लाख बजेट विनियोजन गरिदिएको छ । उक्त बजेट पनि कार्यान्वयन गर्न सम्बन्धित पक्षहरू लागि सकेको स्रोत बुझाई छ ।
