एक आवमा सुनापति गाउँपालिकाले ८८.०३% भौतिक र ८४.७८% वित्तीय प्रगति गर्‍यो, ३ करोड ७४ लाख बढी रकम संघ र प्रदेशलाई फिर्ता

किन पठायो बजेट संघ प्रदेशलाई फिर्ता !

| असार ३२, २०८३ बिहिबार

A A A
A A A

३२ साउन, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा संघ र प्रदेश सरकारबाट प्राप्त भएको झन्डै ४ करोड बजेट फिर्ता पठाएको छ । उसले कार्यान्वयन गरी पूरा खर्च गर्न नसकेको उक्त पैसा नियम अनुसार स्वतः फिर्ता गएको हो । यो पालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ मा पर्यटन महोत्सव सञ्चालन गर्ने देखि बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले कूल ८८.०३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । 

 

बुधवार गाउँपालिकाको चालु आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाइ गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले संघ र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त, समपूरक, विशेष अनुदान र साझेदारी तर्फका योजना तथा कार्यक्रम कार्यान्वयन नभएका र कार्यान्वयन भएर पनि बढी भएको कूल ३ करोड ७४ लाख १३ हजार ५४२ रुपैयाँ ४३ पैसा फिर्ता पठाइएको जानकारी दिए । उनका अनुसार संघ तर्फ २ करोड ५७ लाख ८७ हजार ७ सय ४७ र प्रदेश तर्फ १ करोड १६ लाख २५ हजार ७९५ रुपैयाँ ४९ पैसा गएको हो । 

 

चालु आर्थिक वर्षमा यो पालिकाले ५४ करोड ६३ लाख ३२ हजार ३९२ रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । जसमा ८४.७८ प्रतिशत कूल बजेट खर्च गर्दै प्रगति हासिल गरेको जनाएको हो । पुँजीगत तर्फ २० करोड ७ लाख ७८ हजार बजेट रहेकोमा १५ करोड १२ लाख ७१ हजार ८ सय ४० अर्थात् ७५.३४ प्रतिशत खर्च गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले चालु तर्फ ३४ करोड ५५ लाख ५४ हजार ३ सय ९२ रुपैयाँ अनुमानित बजेट रहेकोमा ३१ करोड १९ लाख २२ हजार ७ सय ९९ रुपैयाँ अर्थात् ९०.२६ प्रतिशत खर्च भएको जानकारी दिए । 

जिल्लाकै सबै भन्दा कम वडा रहेको यो पालिका पछिल्लो समय विकासको लयमा दौडिरहेको तर्क गर्दै गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले भौतिक प्रगति ८६.७८ प्रतिशत भएको बताए । उनले ४६९ योजना मध्ये ६२ वटा योजना पूर्ण कार्यान्वयन नभएको बताए । निर्वाचित भएदेखि गाउँपालिकाको विकासको लागि आफूहरूले निरन्तर काम गरिरहेको बताउँदै जनता आफूहरूको कामबाट सन्तुष्ट रहेको जिकिर गरे । ‘हामी मत माग्न जाँदा जुन आश्वासन दिएर आएका थियौँ ती काम पूरा गर्न हामी निरन्तर जनताको सेवामा छौँ ।’

 

त्यस्तै गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं २, दिमिपोखरीका वडा अध्यक्ष पदम बहादुर थापाले आफूहरू जनताको सेवक रहेको जिकिर गर्दै सोही अनुसार काम गरिरहेको जिकिर गरे । उनले भने ‘हामी जनताको सेवा गर्न आएका सेवक हौँ ।’

 

पालिका प्रवक्ता थापाले जनताहरू आफूहरूको काम बाट सन्तुष्ट रहेको जिकिर गर्दै बाहिर रहेका राजनीतिक दलहरूले पनि आलोचनासहितको समर्थन गर्दै आएको धारणा राखे । 

मिलन घिमिरे (बि क)
| असार २७, २०८३ शनिबार