लिखु तामाकोशी, दोरम्बा र खाँडादेवीमा ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण’ बारे प्रहरीको चेतनामुलक अभियान
तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
२१ भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप अन्तरगत रहेका प्रहरी कार्यालयहरुले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जनचेतनामुलक’ कार्यक्रम गरेका छन् । लिखु तामाकोशी, दोरम्बा र खाँडादेवी गाउँपालिकामा ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण’ बारे प्रहरीले जनचेतनामुलक अभियान थालेको हो ।
जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको धोवी, दोरम्बा शैलुङ् गाउँपालिकाको थामचौर र खाँडादेवी गाउँपालिकाको पकरवास स्थित प्रहरी चौकीहरुले आज मंगलबार आम जनतामा जनचेतना फैलाउने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय, बालबालिका, विद्यार्थी, गाउँपालिकाका कर्मचारीहरुको सहभागितामा सम्बन्धित गाउँपालिकाका प्रहरीको टोलीले र्याली, माइकिङ, अन्तरक्रिया कार्यक्रम गरेर सचेतना मूलक कार्यक्रम गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।
उनले आउँदो २५ गते बुधबार जिल्ला सदरमुकाम मन्थलीमा जिल्ला प्रहरीको आयोजनामा सोही विषयमा वृहत छलफल तथा सचेतना मूलक कार्यक्रम गर्न लागेको प्रहरीले अहिले गाउँपालिकामा सचेतना फैलाउन केन्द्रित भएको हो ।

कुनैन कुनै रुपमा जिल्लामा अपराधिक गतिविधि बढिरहेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न केन्द्रित प्रहरी प्रशासनले पछिल्लो समय नागरिक, सरोकारवाल निकायहरु, विद्यार्थी सहित सबै नागरिकहरुसंग जोडीने र सचेत गराउने उद्देश्य लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


