रामेछाप प्रदेश ‘क’ बाट उम्मेद्वारी दिने उपसभापति कार्कीको घोषणा
फाइल फोटो
१५ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले आउँदो निर्वाचनमा रामेछाप प्रदेश ‘क’ बाट उम्मेद्वारी घोषणा गरेका छन् । उनले लेखेका छन् ‘२०७९ साल मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यको लागि मेरो उम्मदवारमा दाबि रहनेछ ।’
बुधबार पार्टी उपसभापति कार्कीले सामाजिक संजालफेस्बुक मार्फत आसन्न निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उपसभापति कार्की २०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापको जिल्ला सभापति, २०५३ सालमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ को सचिव भएको भन्दै पार्टी प्रती विभिन्न योगदान दिएको स्मरण गरेका छन् ।
त्यस्तै २०५६ सालमा नेपाल तरुण दल रामेछापको जिल्ला सभापति, २०६२÷०६३ सालको जनआन्दोलन परिचालन समिति रामेछापको सह संयोजक बनेको उनले स्मरण गरेका छन् ।
त्यस्तै १२ औं महाधिवेशनमा नेपाली काँग्रेस रामेछाप क्षेत्र नं १ को क्षेत्रीय सभापति, १३ औं महाधिवेशनमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको सचिव (निर्वाचित) भइसकेको जनाएको छ ।
पार्टीको पछिल्लो १४ औं महाधिवेशनबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको उपसभापति निर्वाचित भएका कार्कीले आउँदो मंसिर ४ गतेको संघीय तथा प्रदेश सदस्य निर्वाचनमा आफ्नो उम्मेद्वरी रहने घोषणा गरेका हुन् ।
रामेछापको रामेछाप नगरपालिकामा जन्मिएका कार्कीकी श्रीमती गत स्थानीय निर्वाचनमा सोही नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी छन् ।
जिल्ला सदरमुकाम मन्थलीमा बसोबास गर्दै आएका उनी एक होटल व्यवसायी पनि हुन् ।
