५ वर्षमा ८ अरब बजेट ल्याएर रामेछापलाई समृद्ध बनाउने अभियानमा छु, छोटो समयमै यत्रो काम गरे–सांसद ‘कान्छाराम’
१ वैशाख, रामेछाप । प्रतिनिधि सभाका सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापको विकासको लागि आफ्नो ५ वर्ष कार्यकालमा ८ अरब बजेट ल्याउने बताएका छन् । आफ्नो कार्यकालमा जिल्लालाई समृद्ध बनाउने दृढ संकलप सहित आफूले काम गर्न थालिसकेको उनको भनाई छ । मङ्सिर देखि हाल सम्मको अवधिमा आफूले जिल्लाको विकासको लागि निकै महत्त्वपूर्ण काम गरेको उनको दाबी छ ।
शुक्रवार देखि रामेछापको मन्थलीमा सुरु भएको सांस्कृतिक तथा सडक महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले यस्तो बताएका हुन् । ‘मैले मङ्सिरदेखि अहिले सम्म एक करोड भन्दा धेरै बजेट जिल्लाको विभिन्न सडक कालोपत्रे गर्न, नयाँ बनाउनको लागि जिल्ला भित्र्याइसकेको छु । यो ५ वर्षमा कम्तीमा पनि ८ अरब बजेट रामेछापको विकासको लागि ल्याउने तयारी छ । त्यसको लागि मैले काम पनि थालेको छु ।’
उनले जिकिर गर्दै भने प्रधानमन्त्रीले मङ्सिरपछि बजेट लान सकेको छैन । मैले एक करोड बढी बजेट जिल्लाको लागि पारि सकेको छ । मन्त्रीहरुसंग कुरा राखेको छु ढुक्क हुनुस् जिल्लालाई सबै भन्दा बढी बजेट ल्याएर छाड्छु ।
सांसद तामाङले जिल्लामा सदरमुकाम मन्थलीमा सपिङ महल बनाउने देखि टोल–टोल सम्मका सडकहरू कालोपत्रे गर्ने योजनाहरू अगाडि बढी सकेको जानकारी दिए । ‘ढुक्क हुनुहोस् राप्रपा, एमाले, माओवादी सबै पार्टीका साथीहरूलाई मिलाएर जान्छौँ विकास ल्याउँछौँ ।’
नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले जिल्लाको विकासको लागि प्रतिनिधि र प्रदेशका सांसदहरू सबै एक भएर लाग्नु पर्नेमा जोड् दिए । उनले प्रदेश सांसदहरूलाई पनि मिलेर काम गर्न आग्रह गर्दै पार्टी भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाए ।
निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर जिल्लाको विकास निर्माण गर्ने र ५ वर्षमा रामेछापलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ भने । रामेछाप उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि व्यावसायिक हितमा यस्ता कार्यक्रम गर्न आग्रह गरे ।
