आफू निर्वाचित भएको क्षेत्रको विकास गर्न प्रदेश सांसद चौलागाईले मन्त्रीसँग मागे ७ करोड बजेट (माग पत्रसहित)
२२ चैत, रामेछाप । बागमती प्रदेशका सांसद युवराज चौलागाईले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई भेटेर आफू निर्वाचित भएको क्षेत्रको विकास गर्न बजेट माग गरेका छन् । उनले आफू निर्वाचित भएको क्षेत्रमा धार्मिक तथा पर्यटकीय विकासलाई अगाडि सारेको जनाएका छन् ।
मङ्गलवार मन्त्री किरातीको कार्यकक्षमा पुगेर प्रदेश सांसद चौलागाईले रामेछापको विकासको लागि बजेट छुटाइदिन माग गरेको सांसद चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो पहिलो चरणको हो, अर्को पनि आउँछ भनेको छु । मन्त्रीज्यूले बजेट हाल्छु भन्नु भएको छ,’ रामेछाप टाइम्ससंग सांसद चौलागाईले भने ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद चौलागाईले सोही पार्टीबाट मन्त्री भएका किरातीलाई भेटेर आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि योजना सहित कूल ७ करोड बजेट माग गरेका हुन् ।
सांसद चौलागाईले दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ र २, डाँडाकटेरीको ‘दोरम्बा सहित पार्क’को लागि २ करोड, मन्थली नगरपालिका वडा ९, पुरानागाउँको स्थानापति मन्दिर पार्कको लागि १ करोड बजेट मागेका छन् ।
त्यस्तै रामेछाप र दोलखाको सिमाना ठुलो शैलुङडाँडामा मन्दिरमा पार्क र सिँढी निर्माणको लागि पनि २ करोड बजेट मागेका छन् ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा जिल्लाको क्षेत्र नं २ (ख) बाट निर्वाचित चौलागाईले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रबाट विकास गरी समृद्धि क्षेत्र बनाउने योजना अगाडि सारेका हुन् ।
सोही क्रममा उनले सुनापति ४ भ्वाँसा स्थित पेमा छोइलिङ गुम्बा र खाँडादेवी –१ राकाथुमको थुवतेन ताडुप रिगतिलिङ गुम्बालाई १–१ करोड बजेट माग गरेको रामेछाप टाइम्सलाई जानकारी गराए ।
बजेट माग गरिएको पत्र हेर्नुहोस् ।

