मन्थलीमा सुरु भयो २ महिने कफी बनाउने तालिम
२७ फागुन, रामेछाप । रामेछापको मन्थलीमा आजदेखि करिब दुई महिने निःशुल्क पूर्ण रोजगार सहितको कफी मेकिङ तालिम सुरु भएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा जिल्ला युवा समिति रामेछापको आयोजना र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा निःशुल्क तालिम आयोजना गरिएको जिल्ला युवा समिति रामेछाप सदस्य एवं तालिम स्वयंसेवक सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘३९० घण्टे तालिम आजदेखि सुरु भएको छ । तालिमपछि पूर्ण रोजगारीको हुनेछ ।’
उनका अनुसार तालिममा सबै प्रकारका कफीका प्रकार बनाइने सिकाइने छ । जिल्लाका विभिन्न पालिकाका २० जनाको सहभागितामा शनिवार बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठ ‘बिगुल’ले उद्घाटन गरेका हुन् ।
जिल्ला युवा समिति रामेछापका अध्यक्ष तिलक थापा मगरको पहलमा जिल्ला समन्वय समिति रामेछाप उपप्रमुख प्रेम सागर थापा सहित हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र हेटौँडाका सञ्चालक भीम भुजेल, प्रशिक्षक अबिना श्रेष्ठ सहितले तालिम निकै महत्त्वपूर्ण रहेको बताए ।
तालिम उद्घाटन गर्दै सांसद श्रेष्ठले तालिम महत्पूर्ण रहेको भन्दै सिप सिकेर स्वरोजगार बन्ने आग्रह गरे । प्रदेश सरकारले युवाहरूलाई स्वरोजगार बनाउनको लागि तालिम आयोजनामा सहयोग गरेको भन्दै सफल पार्न आग्रह गरे ।
