काँग्रेस रामेछापले ८ वटै स्थानीय तह पार्टी समितिलाई भन्यो ‘उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनलाई जिताउन मतदान गर्नु’
कांग्रेस पार्टी कार्यालय, फाइल फोटो ।
२५ फागुन, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रामेछापले उद्योग वाणिज्य संघ रामेछापको निर्वाचनमा आफ्नो टिमलाई जिताउनको लागि सक्दो भूमिका खेल्न ८ वटै स्थानीय तहलाई लिखित निर्देशन दिएको छ । गत मङ्गलवार एक पत्र लेख्दै आठ वटै स्थानीय तहलाई काँग्रेस सचिव दीपक खड्काले समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
जारी पत्रमा भनिएको छ ‘नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गरी गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी पार्टी सभापति समेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा माओवादी केन्द्रको तर्फबाट पार्टी इन्चार्ज तथा संविधान सभा सदस्य श्याम कुमार श्रेष्ठ (कुशल) बिच गत फागुन १६ गते लिखित सहमति भएका जानकारी गराउँदै पार्टीको तर्फबाट पालिका अन्तरगत रहेका सङ्घमा आबद्ध व्यापारीहरूलाई गठबन्धनका उम्मेदवार नवीन कुमार थापामगरको टिमलाई विजयी गराउन हाम्रा पार्टीको तर्फबाट विजयी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, अग्रज नेता गणहरू, वडा सभापति, पदाधिकारी तथा सदस्यहरू सँग समेत समन्वय गरी मतदान प्रक्रियामा सहभागी गराई दिनु होला ।’
कूल १३ सय ८७ जना मतदाता रहेको संघको निर्वाचनमा १४ पदका लागि २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । भने एमाले निकट व्यवसायीहरू एकलै मैदानमा छन् । सुरुमा तीन जनाको अध्यक्षको लागि उम्मेदवारी दर्ता भएकोमा हालका अध्यक्ष समेत रहेका उम्मेदवार केशवप्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि अहिले थापामगर र नवराज ढुङ्गेलको नेतृत्वसहित प्रतिस्पर्धा हुँदै छ । संघको निर्वाचन २७ गते शनिवार हुँदै छ ।

