अध्यक्षका उम्मेदवार थापा मगरले भने ‘हाम्रो जित पक्का देखेपछि प्रतिस्पर्धीले मिडियाको दुरुपयोग गरी अत्यन्त निकृष्ट प्रचार सुरु गरे, पुष्टि गरेर देखाऊ’ (विज्ञप्तिसहित)
२५ फागुन, रामेछाप । पर्सी शनिवार हुन लागेको रामेछाप उद्योग वाणिज्य सङ्घको आठौँ जिल्ला अधिवेशनमा ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ बाट अध्यक्षका उम्मेदवार बनेका नवीनकुमार थापामगरले मतदातालाई भ्रमित पार्ने काम भएको बताएका छन् ।
बुधवार एक अनलाइनबाट रामेछाप उद्योग वाणिज्य सङ्घको अध्यक्षका उम्मेदवार थापामगरलाई प्रभु बैङ्कले कालोसूचीमा राखेको खुलासा शीर्षकमा समाचार प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले आपत्ति जनाए ।
उनले प्रेस विज्ञप्ति जार गर्दै भनेका छन् ‘व्यवसायी ज्यूहरूबाट हामी र हाम्रो प्रतिबद्धता प्रति अपार माया, स्नेह, सद्भाव र विश्वास प्रकट गर्नुभएको देखेर हतोत्साहित भई निर्वाचनमा हार हुने निश्चित भएपछि प्रतिस्पर्धीहरूले मिडियाको दुरुपयोग गरी अत्यन्त निकृष्ट प्रचार सुरु गर्नुभएको छ ।’
सङ्घको हाल वरिष्ठ उपाध्यक्ष रहेका थापामगर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार छन् ।
थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रभु बैङ्कमा कालोसूचीमा रहेको भनी विल्कुलै झुटा, भ्रम फैलाउने, मन गडन्ते र कपोकल्पित समाचार प्रकाशित भएको प्रति घोर निन्दा एवं भर्त्सना गर्दछु ।’
साथै उनले ‘मेरो नाम प्रभु बैङ्क लगायत कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा कालोसूचीमा नरहेको सम्पूर्ण व्यवसायी ज्यू समक्ष स्पष्ट पार्न चाहन्छु । भ्रामक समाचार प्रकाशित गर्ने अनलाइन र मिडिया प्रयोग गरी गलत समाचार फैलाउन लगाउने मेरा प्रतिस्पर्धी साथीहरूलाई मेरो नाम कहीँ कतै कालोसूचीमा रहेको भए स–प्रमाण सहित गर्न म चेतावनी समेत दिन चाहन्छु ।’
२५ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका थापामगरको टिमले स्वच्छ प्रतिस्पर्धामा सिङ्गो प्यानल विश्वास गर्ने भन्दै व्यवसायीहरूको भरोसा नै जितको आधार रहेको उल्लेख गर्दै आफ्नो प्यानलको जित निश्चित भएको पनि जिकिर गरे ।
शनिवार हुने निर्वाचनमा एमाले निकट व्यवसायिहरुको तर्फबाट नवराज ढुङ्गेलको नेतृत्वमा प्यानल प्रतिस्पर्धामा छ । १४ पदको लागि हुन लागेको निर्वाचनमा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा छन् । कूल १३ सय ८७ जना मतदाता रहेको सङ्घमा तीन वर्षे कार्यकालको लागि २८ जना उम्मेद्वारहरु प्रतिस्पर्धामा छन् ।
विज्ञप्ति हेर्नुहोस्

