नेविसंघ रामेछापले गठन गर्‍यो ‘स्ववियु परिचालन समिति’ : विद्यार्थी परिचालनको संयोजकमा पौडेल, आर्थिकमा फुयाँल, कूल मतदाता ७१४ (सूचीसहित)

| फागुन २३, २०७९ मंगलबार

A A A
A A A

२३ फागुन रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले आसन्न स्ववियु निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ । सोही अनुसार मातृ पार्टी र भातृ संस्था एक भएर निर्वाचनलाई सफल पार्न लागेको नेविसंघ रामेछापले जनाएको छ । 

 

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा चैत ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरेर मङ्गलवार आज मन्थलीमा मातृ पार्टी नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य एवं भातृ संस्था विभाग प्रमुख दीपेन्द्र खड्कासहितको टिमले चासो राख्दै विभिन्न उपसमिति गठन गरेर निर्वाचन आफ्नो पक्षमा पार्न नेविसंघलाई निर्देशन सहितको जिम्मेवारी दिएको छ । त्यसको लागि आवश्यक उपसमिति गठन गरेर जिम्मेवारी तोकिएको नेविसंघका नेता एवं स्ववियु सचिव समेत रहेका विमल पौडेलले रामेछाप टाइम्सलाई बताए । 

 

उनले भने ‘नेविसंघले निर्वाचनलाई नजिकबाट नियाली रहेको छ । र, आज काँग्रेस जिल्ला कार्य समिति सदस्य एवं भातृ संस्था विभाग प्रमुख दीपेन्द्र खड्का दाइको उपस्थितिमा हामीलाई उपसमिति गठन गरेर जिम्मेवारी तोकिदिनु भएको छ ।’

 

जसअनुसार क्याम्पसमा नेविसंघलाई विजय गराउनका लागी पौडेलको संयोजकत्वमा दुई सदस्यीय ‘स्ववियु परिचालन समिति’ गठन गरिएको संयोजक तोकिएका पौडेलले बताए । उनका अनुसार सरोज श्रेष्ठ र कमल खत्रीको सदस्यमा चयन भएका छन् । 

 

मङ्गलवार मन्थलीमा भएको एक छलफलले स्ववियु निर्वाचनलाई नै लक्षित गरेर आर्थिक समिति र प्रचारप्रसार समिति पनि गठन गरिएको हो । स्ववियु सचिव समेत रहेका संयोजक पौडेलका अनुसार आर्थिक समितिको संयोजकमा वासुदेव फुयाँल चयन भएका छन् । भने, सदस्यमा विनोद बुढाथोकी र उत्तम कार्की चयन भएका छन् । 

 

स्ववियु निर्वाचन त्रिविले तोकेकै मितिमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि गर्ने निर्णय यस अगाडि नै राजनीतिक दलका भातृ संस्था र क्याम्पस प्रशासनबिच भई सकेको छ । जसअनुसार क्याम्पसले पनि प्रशासनिक काम अगाडि बढाएको क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार गत १२ गते क्याम्पसले तोकेको समयभित्र एमाले निकट विद्यार्थी संघ (अनेरास्ववियु), नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (कान्तिकारी) विद्यार्थी सङ्गठन निर्वाचनमा भाग लिनको लागि दर्ता भएका छन् । 

त्यस्तै क्याम्पसले निर्वाचनमा भोट हाल्ने विद्यार्थी सङ्ख्या पनि सार्वजनिक गरेको छ । जसअनुसार क्याम्पसमा हुने निर्वाचनमा ७ सय १४ जना विद्यार्थीले मतदान गर्ने जनाएको हो । 

 

मतदाता सूची हेर्नुहोस् 

राष्ट्रिय राजनीतिमा ८ दलीय गठबन्धन बनेकाले क्याम्पसको निर्वाचनमा पनि ती दलका भातृ संस्थाहरू मिलेर जना तयारी रहेको धेरैको आङ्कलन छ । जसअनुसार नेकपा माओवादी केन्द्र रामेछापको पछिल्लो बैठकले अन्य दलका भातृ संस्थाहरूसँग मिलेर जना ढोका खुल्ला राखेको नेकपा माओवादी केन्द्र रामेछापका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछाप टाइम्सलाई बताए । ‘मिलेर जाने विषयमा छलफल भएको छ । हामीले सबैसँग मिलेर जाने ढोका खुल्लै राखेका छौँ ।’

 

मन्थली सहिद स्मृति क्याम्पसको निर्वाचनलाई रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनले पनि केही प्रभाव पारेको छ । पार्टी र नेताहरू उद्योग वाणिज्य संघको निर्वाचनमा व्यस्त हुँदा यो निर्वाचन पछि भने कसरी जाने विषयमा थप छलफल हुने कुशलले बताए । 

 

यता नेविसंघका नेता विमल पौडेलले पनि अन्य दलहरुसंघ मिलेर जाने निश्चित भए पनि अहिले टुङ्गो लागि नसकेको बताए । ‘गठबन्धन हुन्छ । तर, टुङ्गो लागेको छैन । उद्योग वाणिज्य संघको निर्वाचनपछि बस्ने छलफलले थप निर्णय गर्छ भने । यसले गर्दा पनि हाल सम्म नेपाली काँग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले स्ववियुमा भाग लिने उम्मेदवार टुङ्गो लगाएका छैन । आकांक्षितहरु भने धेरै देखिएका छन् । 

 

निर्वाचन लागेसँगै क्याम्पसमा विद्यार्थी नेताहरूको चहलपहल बढेको छ ।