राज्यको सहयोगले कृषि उत्पादन बढ्दै गएको छ–सांसद श्रेष्ठ (भिडिओसहित)
१८ फागुन, रामेछाप । रामेछापबाट निर्वाचित बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले कृषि पेशामा लागेकाहरूलाई राज्यले सहयोग गर्दा उत्पादन क्रमशः बढी रहेको दाबी गरेका छन् । उनले भने ‘राज्यले पछिल्लो समय तपाईँहरूलाई कृषि औजार, मेसिन, उन्नत जातका बाख्रापाठा, बिउ दिन थालेको छ । यसरी हामी उत्पादनमा अग्रसर भएका हौँ । लागि रहेका छौँ ।’
बिहीबार मन्थलीमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७९’ बाट रामेछाप र दोलखाका किसानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । देशभित्र उत्पादन भएका खाद्यान्न, तरकारी माछा, मासु सबै उत्पादन गरेर यहाँको माग पूरा गर्नु पर्छ र बाहिरबाट आयात हुने प्रविधिलाई अन्त्य गर्नु पर्छ । त्यसबाट किसानले लाभ लिन सुरु हुन्छ । अनि समृद्धि आउँछ भने ।
विगतमा उपभोग्य खेती गरिँदै आएका हामीले व्यावसायिक रूपमा खेती गर्दा किसानहरू आत्तिने, डराउने गरेको देखिन्छ । तर, त्यसो नगरेर वृहत् उत्पादनमा जोड् दिए । उत्पादन बढाऊ भने । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका सांसद श्रेष्ठले विगतमा एउटै व्यक्तिलाई तालिम दिँदा समस्या आएको दाबी गरे । पहिले एउटै व्यक्तिले सुविधा लिने नाममा गलत गरेको प्रस्ट्याए ।
भिडियोमा हेर्नुहोस् ।
आफूहरूले कृषि, पशुपालन लगायत धेरै क्षेत्रमा सहजीकरण गर्दै आएको दाबी गरेका सांसद श्रेष्ठले यसको सही सदुपयोग गर्न नसक्दा समस्या आएको बताए । किसानले समेत पारदर्शी रूपमा स्रोतको सदुपयोग गर्न नसकेको उनको भनाई छ ।
आगामी दिनमा किसानको हितमा कानुन बाउँदा आफूले किसानको आवाज बोल्ने बचन दिँदै प्राविधिक जनशक्ति परिचालनको निम्ति पहल गर्ने बचन दिए । कृषि, शिक्षा र स्वास्थ्य सङ्घीयतामा गएपछि लथालिङ्ग अवस्थामा पुगेको बताउँदै त्यसलाई सुधारको निम्ति जोड् दिए ।
सम्बोधन गर्दै चिना खड्का कार्की, जिल्ला समन्वय प्रमुख, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स
त्यस्तै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले किसानहरूले खोजेको सुविधा उपलब्ध पाउन दिन माया मारेर धाउनु पर्ने अवस्थाको अन्त्य गर्नु पर्नेमा जोड् दिइन् । उनले कृषि ज्ञान केन्द्र दोलखामा नहुँदा समस्या भएको उल्लेख गर्दै आगामी दिनमा दोलखाका किसानले त्यहीँबाट सुविधा लिने व्यवस्था गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण गराइन् ।
उनले किसानले उत्पादन राम्रो गर्दै आएकोमा खुसी व्यक्त गर्दै किसानहरूले अन्यलाई पनि कृषि पेसामा सहयोग गर्न आग्रह गरिन् । किसानका समस्यालाई समाधान गर्न आफूले सक्दो सहयोग गर्ने उनको प्रतिबद्ध जनाइन् ।
