काँग्रेस सभापति ‘कान्छाराम’ले भने ‘८ दलीय गठबन्धन लामो समय जान्छ, ५ वर्षभित्र झण्डा हल्लाएर आउँछु’

| फागुन १६, २०७९ मंगलबार

A A A
A A A

१६ फागुन, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले अहिले बनेको ८ दलीय गठबन्धन लामो समय टिक्ने दाबी गरेका छन् । उनले भने ‘पुस १० गते रातभरि निदाउन् सकिएको थिएन । अहिले एमाले निदाउन सकेको छैन । १० गते टुटेको गठबन्धन अहिले बनेर सही ठाउँमा आएको छ । मलाई लाग्छ, यो गठबन्धन १० औँ वर्ष सम्म टिक्छ, जान्छ ।’

 

उनले थपे ‘म पार्टीको केन्द्रको कुरा बुझिरहेको छु । हाउस (प्रतिनिधिसभा) को कुरा पनि बुझेको छु । त्यसअनुसार यो गठबन्धन अब लामै समय जान्छ । मिलेर जानु पर्छ । हामीले गठबन्धनबाटै चुनाव जितेका हौँ । अब फेरी एकै ठाउँमा आएर समृद्धिको बाटोमा अगाडि बढ्ने छौँ ।’ तर, फेरी अब यो गठबन्धन कुनै रूपमा टुटेमा काँग्रेस अप्ठ्यारोमा पर्ने उनको तर्क थियो । 

 

मङ्गलवार जिल्ला सदरमुकाम मन्थलीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो बताएका हुन् । तत्कालीन माओवादीले एमालेसँग मिलेर बनाएको गठबन्धनपछि केपी ओलीले रणनीतिक राजनीति गर्दा प्रधानमन्त्री ‘प्रचण्ड’ अप्ठ्यारो स्थितिमा पुगेपछि प्रचण्डले सभापति देउवासँग छलफल गरेर अप्ठ्यारोबाट मुक्त बनेको उनको भनाई थियो । 

 

देउवाका निकट सभापति तामाङले अप्ठ्यारोबाट मुक्त गर्ने र सबैसँग मिलेर लैजान पार्टी भनेको काँग्रेस मात्रै भएको दाबी गरे । 

 

उनले आफूले छोटो समयमा जिल्लाबाट विभिन्न सफलता हात पारेको भन्दै यो ५ वर्ष भित्र मन्त्री पनि हुने सम्भावना रहेको टिप्पणी गरे । ‘मैले यो छोटो समयमा जिल्लाका सबै खाइदिए, अब एउटा झण्डा हल्लाउन मात्रै बाँकी छ । त्यो पनि यो ५ वर्षमा पक्कै पूरा हुन्छ ।’ ८ दलीय गठबन्धनले देशलाई निकास दिनु पर्ने उनको जोड् छ ।