एमाले नेता एवं उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नवीन थापामगर काँग्रेस प्रवेश

| फागुन १६, २०७९ मंगलबार

A A A
A A A

१६ फागुन, रामेछाप । नेकपा एमाले रामेछापका नेता एवं रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नवीन थापामगर नेपाली काँग्रेस प्रवेश गरेका छन् । 

 

आउँदो फागुन २७ गते रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष थापामगर काँग्रेस प्रवेश गर्नुलाई चासोको रूपमा हेरिएको छ । जिल्लाका सङ्घमा आबद्ध उद्योगी व्यवसायीहरूलाई यती बेला चुनाव लागि सकेको अवस्था छ । 

मङ्गलवार आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) तामाङले पार्टी प्रवेश गराएका हुन् । मन्थलीमा पत्रकार सम्मेलन गरी थापामगरलाई काँग्रेस पार्टी सदस्यता प्रदान गर्दै सभापति तामाङले पार्टीमा स्वागत गरे । 

विगतमा नेपाली कांग्रेसनै रहेका थापामगर केही वर्ष अगाडि नेकपा एमालेका प्रवेश गरेर एमालेबाटै उद्योग वाणिज्य संघ रामेछापको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । 

 

मन्थलीमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका थापामगरले आफू काँग्रेस प्रवेश गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘म एमाले पार्टीमा रहदाँ भएका सबै कुरालाई छोडेर कांग्रेस प्रवेश गरेको हुँ । अगाडि दिनमा हाम्रो पार्टीमा मिलेर अगाडि बढ्ने भएको छु प्रवेश गर्दै थापामगरले भने ।’

 

उनलाई काँग्रेसका निवर्तमान सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष एवं तरुण दलका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), काँग्रेस नेता एवं मन्थली नगरपालिका वडा नं १ अध्यक्ष डोरबहादुर पौडेल (रामहरि), रामेछाप नगरपालिका ७ सुकाजोरका अध्यक्ष समीर कार्की, रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्की, महाधिवेशन प्रतिनिधि धुर्बहरी ढुङ्गेल, नेविसंघ जिल्ला सभापति विनोद बुढाथोकी सहित विभिन्न नेताहरूले स्वागत गर्दै बधाई दिए । 

थापामगरलाई स्वागत गर्दै सभापति तामाङले आगामी दिनमा सकारात्मक सहयोग जिल्लादेखि केन्द्र सम्म रहने प्रतिबद्धता जनाए । उनले राजनीति र व्यावसायिक दुवै क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै पार्टीमा थापामगरको भूमिका बारे पार्टीले निर्णय गरेर अगाडि बढ्ने स्पष्ट पारे ।