अपायक ठाउँमा रहेका एक दर्जन बढी मतदान केन्द्र सार्ने जिल्ला निर्वाचनको निर्णय, कुन-कुन मतदान केन्द्र सर्दै ? (सूची)

| फागुन १६, २०७९ मंगलबार

A A A
A A A

१६ फागुन, रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले अपायक पर्ने मतदान केन्द्र र मतदान स्थलहरू सार्ने, गाभ्ने र व्यवस्थित गर्ने भएको छ । जस अनुसार रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाका मतदान केन्द्र बाहेकका स्थानीय तहको मतदान केन्द्रहरू व्यवस्थापन हुन लागेका छन् । 

 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाताले मतदान गर्न असहयोग महसुस गरेका मतदान केन्द्रहरूको बारेमा सरोकारवालासँग छलफल गरी थप व्यवस्थापन गर्ने लागेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

केही दिन यता निर्वाचन कार्यालयले जनप्रतिनिधि, राजनीति दल, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, पत्रकार, नागरिक समूह लगायतसँग छलफल गरेर मतदान कार्यलाई सहज बनाउन लागेको जनाएको हो । 

निर्वाचन आयोगले गरेको परिपत्र अनुसार मतदान स्थल पुनरावलोकन कार्यक्रम अन्तर्गत त्रुटि सच्याउने, मतदान स्थल स्थानान्तरण गर्ने, गाभ्ने, मतदान स्थल र मतदाता सार्ने विषयका विषयमा छलफल गर्दै जिल्लाको मन्थली नगरपालिका सहित उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र सुनापति गाउँपालिकाको केही मतदान केन्द्रहरू सार्ने, गाभ्ने निर्णय गरेको छ । 

 

जसअनुसार मन्थली नगरपालिकाको वडा नं ३ मा रहेको ठाँटी महादेव आ‍.वि. ठॉटीचौर मतदान स्थलमा मतदान गर्ने साबिक वडा १ र २ का मतदाताहरूको लागि साबिकको वडाको कालिका आ.बि. कठजोरमा नयाँ मतदान स्थल कायम गर्ने निर्णय भएको छ । 

प्रदेश र प्रतिनिधि सभामा खसेको मत गणनाको लागि तयार पारिदै, तस्बिर फाइल ।

उता उमाकुण्डको वडा नं ५ मा रहेको मतदान स्थल सरस्वती मा‍.वि. सुनुवारधारालाई पूर्ण रूपमा सोही वडाको वडा कार्यालय भवन डाँडा खर्कमा स्थानान्तरण गर्ने र गुप्तेश्वर आ.वि. दुधिले मतदान केन्द्र अपायक पर्ने साबिक वडा नं. ४ का मतदाताहरूलाई कैलेश्वर मा.वि. लेखर्कमा सार्ने निर्णय गरिएको छ । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकाको वडा नं ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई भवन भदौरेलाई पूर्ण रूपमा सोही वडाको साँगेवुद्ध आधारभूत विद्यालय मझुवामा स्थानान्तरण गर्ने निर्णय भएको छ । मतदाताले अपाएक परेको गुनासो वा निवेदन दिएमा त्यसमा पुनरविचार गर्ने जिल्ला निर्वाचन प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई बताए । 

 

गोकुलगागा गाउँपालिका अन्तर्गत वडा नं २ ठोसेमा रहेको शारदा मा.वि. मतदान स्थलमा मतदान गर्ने साबिकका वडा नं २, ३, ८ र ९ का मतदाताहरूका लागि सोही वडा सेतीदेवी आ‍.वि. चोरपातलमा नयाँ मतदान स्थल कायम गर्ने, दोरम्बाको वडा नं ६ रहेको कालिका मा.वि. रिट्ठेमा मतदान गर्ने साबिक वडा नं ३, ४, ५, ६ का मतदातालाई समेटेर सोही वडा जागु÷कामा भन्ने स्थानमा नयाँ मतदान स्थल कायम गर्ने निर्णय भएको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जानकारी दिए । 

गत प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खसेको मत परिणाम, प्रदेश सभा 'क' तर्फको, तस्बिर फाइल

उनका अनुसार सुनापति गाउँपालिकाको वडा नं २ मा रहेको उपस्वास्थ्य चौकी पानीट्याङ्की मतदान स्थललाई सोही वडाको अग्लेश्वर मा.वि. मा स्थानान्तरण गर्ने, वडा नं‍ ५ मा रहेको प्रगति आ.वि. कटुन्जे मतदान स्थललाई सोही वडाको श्री कृष्णपुरी म‍.वि. रुपाकोटमा रूपमा स्थानान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिको हो । 

 

गत स्थानीय तहको निर्वाचनमा मतदान अपायक ठाउँमा पर्दा वृद्धवृद्धाहरुले मतदान गरेका थिएनन् जसको फलस्वरुपम जिल्लामा कूल ६५.५४ प्रतिशत मात्रै मत खसेको थियो । प्रदेश र प्रतिनिधि सभामा कूल ८८ हजार ७ सय ५७ मत खसेको मात्रै खसेको थियो । 

 

त्यस्तै जिल्ला निर्वाचनले आउँदो वैशाख १० मा चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचन र आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन कार्य पनि वडा तह सम्म पुगेर यही फागुन  ३० सम्म गर्न लागेको जनाएको छ । 

 

निर्णय हेर्नुहोस्