जिल्लाको विकासको लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एक ठाउँमा उभिनु पर्ने बेला आयो– सांसद ‘कान्छाराम’

| फागुन ११, २०७९ बिहिबार

A A A
A A A

११ फागुन, रामेछाप । सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले विकास निर्माणको काममा रामेछाप जिल्लाबाट निर्वाचित सबै एक ठाउँमा उभिनु पर्ने बेला आएको बताएका छन् । प्रदेश र संघमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरू अब एक ठाउँमा उभिएर जिल्लाको विकास गर्नु पर्ने बेला आएको उनको भनाई छ । 

 

बुधवार देखि लिखु तामाकोशीमा सुरु भएको १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् । नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका सांसद तामाङले उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिका लगायतका स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाले जनतालाई कुनै न, कुनै रूपमा पीडित बनाएकोमा सच्चिन आयोजनालाई आग्रह गरे । 

 

सभापति तामाङले सिरिशेमा सञ्चालन भइरहेको हाइड्रोपावरले सामाजिक काम पर्याप्त नगरेको, लिखु खोलामा छाड्नु पर्ने १० प्रतिशत पानी नछाडेका कारण खोला सुक्दै जाँदा स्थानीयहरूले  सिँचाइ सुविधाबाट समेत वञ्चित हुनु परेको जिकिर गरे । 

फरक प्रंसगमा बोल्दै सांसद तामाङले घर पायक शिक्षकहरूले पढाइमा ध्यान नदिने भएकाले अन्तर पालिका शिक्षकलाई राम्रो सेवा सुविधा दिएर सरुवा गर्नु पर्ने दोहोराए । 

 

त्यस्तै बागमती प्रदेश सांसद आनन्द श्रेष्ठले हाइड्रोपावरले स्थानीय रूपमा गुनासो नआउने गरी काम आग्रह गरे । उनले उनले स्थानीय तहहरूले काम गर्नु पर्ने भन्दै प्रदेश र संघीय सहयोगको लागि तयार रहेको बताए । 

 

एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका सांसद श्रेष्ठले हरेक वर्ष गरिने रनिङ शिल्ड फरक–फरक पालिकामा गर्दा राम्रो हुने धारणामा जोड् दिए । अनुशासित भएर खेल खेल्न विद्यार्थीहरूलाई आग्रह गर्दै उनले यो खेलले विद्यार्थीको क्षमता र कला बाहिर ल्याउने प्रमुख केन्द्र रहेको उल्लेख गरे ।