उपसभापति कार्कीको प्रस्ताव : ३ बजेपछि मन्थलीबाट सवारी बाहिरिन नदिऔँ यसले व्यवसायलाई राहात मिल्छ, डिजेल, पेट्रोलको दुरुपयोग घट्छ
२२ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले ३ बजेपछि सार्वजनिक सवारी मन्थलीबाट बाहिरिन नदिने वातावरण तयार गर्न प्रस्ताव गरेका छन् । उनले भने ‘यहाँका सवारी अहिले ५ बजे पनि ३ जना यात्रु बोकेर काठमाडौँ कुद्ने गरेका छन् । एउटा देवकोटा चोकमा, एउटा, मालपोत छेउमा, अर्को जिल्ला प्रशासन छेउमा बसेर यहाँ बस्ने सम्भावना भएका यात्रु ३ जनै भए पनि बोकेर ५ बजे सम्म कुद्छन् । अनि यसले यहाँको बजार कसरी चल्छ । न, गाउँकालाई हामीले जोड्न सकेका छौँ । अब ३ बजेपछि कुनै पनि सवारी मन्थलीबाट बाहिरिन नदिऔँ । यो निर्णय गरौँ ।’
शनिवार उद्योग वाणिज्य सङ्घ रामेछापको साधारण सभालाई सम्बोधन गर्दै उपसभापति कार्कीले मन्थलीको व्यवसायीलाई चलायमान बनाउन यस्तो योजना अगाडि सारेका हुन् । कार्कीले यस्तो सम्बोधन मञ्चबाट गरिरहँदा उपस्थित धेरै होटेल व्यवसायीले खुसी व्यक्त गर्दै तालिपड्काए ।
होटेल व्यवसायी समेत रहेका कार्कीले यसरी ३ बजे यहाँबाट बाहिरिने यात्रुलाई रोक्न सके यहाँको व्यवसायीलाई राहत हुने र पेट्रोल तथा डिजेलमा भइरहेको भ्रष्टाचार रोक्न समेत टेवा पुग्ने उल्लेख गरे ।
उनले तत्कालीन अवस्थामा बैङ्कको ब्याजले कुनै पनि व्यवसायीको अनुहारमा खुसी नदेखिएको भन्दै बैंककै कारणले यहाँका धेरै व्यवसायी पलायन हुँदै जान थालेको उल्लेख गरे । ‘सटरहरू बन्दछन् । चर्को ब्याजले गर्दा यहाँ सकैको अनुहारमा खुसी छैन । उद्योग व्यवसायीको पीडा पनि सङ्घले सम्बोधन गर्नु पर्छ ।’
भिडिओ हेर्नुहोस् ।
यस्तो मारमा र पीडामा पर्दा पनि तपाईँहरू किन मौन बसेको आन्दोलन गर्न किन नसकेको भन्दै प्रश्न गरे । उद्योग वाणिज्य सङ्घले स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गर्न आग्रह गर्दै नयाँ आउने नेतृत्व सक्षम र चलायमान आउनु पर्नेमा जोड् दिए ।
त्यस्तै उनले मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरूको ध्यानाकर्षण गर्दै देखिने काम गर्न सुझाव दिए । उनले मन्थली बजार व्यवस्थापनको काम अस्त व्यस्त हुँदा ग्राहक पसलमा छिर्न समेत नपाएको उल्लेख गर्दै नगरले यसको समाधान किन गर्न नसकेको भने ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको नाम लिँदै उपसभापति कार्कीले नगरभित्र बाहिरबाट उद्योग र व्यवसाय गर्न आउँछु भन्नेलाई नगरले सार्वजनिक जग्गा निःशुल्क दिने व्यवस्था गर्न आग्रह गरे । यसो गरे उद्योग र लगानी गर्न आउनेको सङ्ख्या बढ्ने, रोजगारी सिर्जना हुने बताए ।
