एमाले रामेछापले गर्यो शहीदको सालिकमा माल्यार्पण
१६ माघ, रामेछाप । सहिद दिवसको अवसरमा नेकपा एमाले रामेछापका नेताहरूले शहीदका सालिकमा माल्यार्पण गरेका छन् । रामेछापमा जन्मिएका तीन लालहरू सहिद गंगालाल श्रेष्ठ, नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिकमा पुष्प गुच्छा अर्पण गरेका हुन् ।
मन्थली स्थित गढवारी, तीनलाल पार्कमा रहेको शहीदहरूको सालिकमा पार्टी अध्यक्ष एवं बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, मन्थली नगरपालिकाकी उपप्रमुख एवं पार्टीकी नेतृ ईश्वरी बस्नेत, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, वडा अध्यक्षहरू, पार्टीबाट निर्वाचित वडा अध्यक्ष पार्टीका उपसचिव द्वय लगाएका नेताहरूले माल्यार्पण गरेर सहिदलाई सम्झना एवं सम्मान गरेका हुन् ।
आज देशव्यापी रूपमा वीर सपुतहरूको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष माघ १६ गते माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम हुँदै छन् ।
शहीदलाई हरेक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसाथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
