एमाले रामेछापः अध्यक्षको चुनावी समीक्षा प्रतिवेदन सुझाव सहित पारित,निर्वाचनका उपलब्धि र कमजोरीमाथि थप छलफल र समीक्षा गर्न माघभित्र सबै पालिका र जनसङ्गठनको बैठक
फाइल फोटो
२३ पुस, रामेछाप । नेकपा एमाले रामेछापले गत निर्वाचनको समीक्षा गरेको छ । गत बिहीबार र शुक्रवार (एमाले) जिल्ला कमिटीको सातौँ पूर्ण बैठक बसेर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरी महत्त्वपूर्ण छलफल र समीक्षा गरिएको पार्टीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।
उनका अनुसार पार्टी कार्यालयको तर्फबाट अध्यक्ष आनन्द कुमार श्रेष्ठले प्रस्तुत गरेको निर्वाचन केन्द्रित समीक्षा प्रतिवेदन सुझाव सहित पारित गरिएको छ ।
त्यस्तै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ यहाँ २८ हजार १५० र २८ हजार ५०४ लोकप्रिय मत प्राप्त गरी जिल्लामा एमाले पहिलो दलको रूपमा निर्वाचित भएको बताएको छ ।
समानुपातिक तर्फबाट मात्रै दुई सिट पाएको एमाले रामेछापले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका पार्टी जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठ र बागमती प्रदेश कमिटी सदस्य माया कुमारी कार्कीलाई बधाई तथा सम्मान गर्दै शुभकामना दिएको छ ।
निर्वाचनमा भएका उपलब्धि र कमजोरीका सम्बन्धमा थप छलफल र समीक्षा गर्नका लागी माघ मसान्त भित्र सबै पालिका कमिटी र जनसङ्गठनको बैठकहरू सम्पन्न गर्ने निर्णय भएको छ । भने, सबै अवधि पुगेका जनसङ्गठनहरूको अधिवेशन÷सम्मेलन आउँदो चैत्र मसान्त सम्म गरी सक्न निर्देशन दिएको छ ।
त्यस्तै पार्टी सदस्यहरूलाई सदस्यता नवीकरण चैत्र मसान्त सम्म अनिवार्य गर्न, निर्वाचित जनप्रतिनिधि भेला एवम् प्रशिक्षण माघ मसान्त भित्र गर्ने पनि निर्णय गरेको कार्कीले बताए । एमालेले पार्टी विरोधी गतिविधिमा लागेका, पार्टी छोडेका र पार्टीले निष्कासन गरेकाहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको उपसचिव कार्कीले बताए ।
त्यस्तै पार्टी कार्यालयको भवन निर्माणको काम तत्काल सुरु गर्ने समेत निर्णय गरेको हो । त्यस्तै विभिन्न समयमा भएका दुर्घटनामा ज्यान गुमाएका, घाइते भएर उपचाररतहरू माथि दुःख व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।
