एमाले रामेछापको चुनावी समीक्षा बैठक आजदेखि सुरु, सम्मानित भए प्रदेश सांसदहरू
२० पुस, रामेछाप । नेकपा एमाले रामेछापको सातौँ पूर्ण बैठक मन्थलीमा आज बुधवार देखी सुरु भएको छ।
पार्टी स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको सहितको उपस्थितिमा अध्यक्ष आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बैठक आजदेखि सुरु भएको पार्टीका प्रकाशन तथा प्रचार विभाग प्रमुख एवं उपसचिव प्रकाश कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा सहित पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।
पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठले गत निर्वाचनको समीक्षा सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस्तै पालिका कमिटीका अध्यक्ष र केही जिल्ला कमिटी सदस्यले रिपोर्टिङ सहितको सुझाव राखेका छन् ।
त्यस्तै बैठकमा प्रदेश इन्चार्ज अधिकारी र बागमती प्रदेश कमिटी सदस्य केशव राज पाण्डेले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भूमिका र जिल्ला कमिटीको भूमिकाको सन्दर्भमा अभिमुखीकरण सहितको भनाई राखेका थिए ।
आजकै बैठकले प्रदेशमा जिल्लाबाट समानुपातिक तर्फबाट सांसद चुनिएका पार्टी अध्यक्ष समेत रहेका आनन्द श्रेष्ठ र प्रदेश कमिटी सदस्य माया कार्कीलाई पार्टीले बधाई दिएको छ ।

भोलि सम्म चल्ने बैठकमा पोलिटब्युरो सदस्य कमल चौलागाईं, केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की, सल्लाहकार सदस्यहरू, बागमती प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति रहेको छ ।
बैठक बिहीबार भोलि बिहान ८ बजे पुन बस्ने गरी स्थगित भएको जानकारी कार्कीले जानकारी दिए ।
एमाले रामेछापले गत मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा को निर्वाचनमा प्रत्यक्ष तर्फ सबै सिट गुमाएको छ ।
