काँग्रेस रामेछाप : चुनावी समीक्षा गर्ने जिम्मा तल्लो तहलाई, अनुशासन समितिमा ४ सदस्य थप (नामावली)
२ पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापले तल्लो तहबाट चुनावी समीक्षा गर्ने भएको छ । गठबन्धन बारे पनि काँग्रेसको बैठकमा छलफल भएको स्रोतको दाबी छ ।
शुक्रवार बसेको जिल्ला कार्यसमिति बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने जिम्मेवारी वडा, पालिका र क्षेत्रीय समितिलाई दिएको जिल्ला कार्यसमिति बैठकपछि क्षेत्र नं २ का सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।
‘तल्लो तहलाई जिम्मेवारी दिइएको छ । पुस १५ सम्म केन्द्रमा पठाउने गरी तलबाट चुनावी समीक्षाबारे सिफारिस गर्न सुझाव माग गरिएको छ ।’
केन्द्रले पनि आउँदो पुस १५ गतेसम्म निर्वाचनमा असहयोग गर्नेहरूलाई केन्द्रमा पठाउन परिपत्र गरेको छ । सोही अनुसार तल्लो तहमा जिम्मेवारी दिएको उनले बताए ।
असहयोग गरेको पुष्टि भएको उम्मेदवारले पनि सिधै कारबाही गर्न सक्छन् । यसको लागि बैठकले वडागत रूपमा जिम्मेवारी दिँदै धाँधली गरेको पुष्टि भए गरिने कारबाही तोकिएको छ उनले भने ।
त्यस्तै जिल्ला कार्यसमितिको अनुशासन समितिमा थप चार जना सदस्य थप भएका छन् ।
प्रकाश कुमार सुनुवारको संयोजकत्वमा गठित ३ सदस्यीय समितिमा जितेन्द्र खड्का (दीपेन्द्र), मन्दिरा घिमिरे, जितबहादुर कटुवाल, कल्पना खड्का (कार्की) थप गरिएको सभापति श्रेष्ठले बताए ।
