‘नेविसंघ सुध्रिनु पर्छु, मलाई विश्वास नगर्ने मान्छे नेविसंघ र तरुण दल नबन्दा हुन्छ’ - कान्छाराम
१ पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य (सांसद) पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेविसंघलाई सुध्रिन आग्रह गरेका छन् । नेविसंघमा आबद्ध विद्यार्थीहरूलाई आर्थिक क्षेत्रमा लाग्न आग्रह गर्दै काम गर्न नलजाउन उनको आग्रह छ ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले सङ्गठन बनाउने (नेविसंघ) लाई सुध्रिन आग्रह गरेका हुन् । ‘काम गर्नेहरूलाई म, सक्दो सहयोग गर्छु । सङ्गठन बनाउने नेविसंघ हो । तपाईहरुनै सुध्रिएपछि सबै हुन्छ, तपाईँहरू सुध्रिनुहोस् उनले भने ।’
उनले थपे ‘जसले राम्रो काम गर्छ म, त्यसको विश्वास गर्छु, सहयोग गर्छु । जिल्ला सभापतिले राम्रो काम गर्छ भने मलाई विश्वास गर्नुहोस् । म, राम्रो काम गर्ने ‘कमाण्डिङ्’ गर्ने हो । तर, काम नगर्ने अनि मलाई विश्वास पनि नगर्ने मान्छे नेविसंघ र तरुण दल नबन्दा हुन्छ ।’
आफूले नराम्रो, गलत गरेमा खबरदारी गरेर सच्चिने बनाउनु होला उनले थपे । कार्यक्रममा केही साथीहरू आउँछन् भन्ने लागेको थियो । तर, आएनन् केही छैन । काम गर्ने यही छन् नेविसंघ रामेछापको नेतृत्व प्रति रुष्ट टिम प्रति सङ्केत गर्दै तामाङले भने ।
सभापति तामाङले जिल्लामा नेविसंघ, महिला संघ, किसान संघ जस्ता भातृ संस्थाहरूको आवश्यकता भएकाले चाँडै नै नियुक्त गर्ने बताए । ‘१५ गते भित्रै चिठ्ठी आउँछ । आवश्यकता परिसक्यो म, त्यो चाँडै गर्छु ।’
नेविसंघमा एकै व्यक्ति लामो समय अध्यक्ष बनेर बसेको प्रति रुष्ट हुँदै नेतृत्व परिवर्तनशील हुनु पर्नेमा जोड् दिए । उनले अहिले बनाएका जिल्ला अध्यक्ष विनोद बुढाथोकीलाई पुस १५ भित्र कार्यसमितिलाई पूर्णता दिएर काम गर्न निर्देशन दिए ।
साथै उनी तदर्थ समितिको अध्यक्ष भइसकेकाले सकेसम्म अर्कै व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन आग्रह पनि गरे ।
सभापति तामाङले आउँदो वैशाखको १० गतेभित्र नेविसंघको जिल्ला अधिवेशन गरिसक्न ‘अल्टिमेटम’ दिए । ‘१० गते बाट एक दिन पनि थप्दिन कुनै हालतमा अधिवेशन हुनु पर्छ ।’
विद्यार्थीहरू सङ्घठनमा लाग्नेहरू काम गर्न लजाउन नहुने भन्दै आर्थिक आर्जन गर्न जोड् दिए । ‘उनले उपस्थिति विद्यार्थीहरूलाई सोध्दै ‘काम गर्छौँ भने म, १० वटा पसल थाप्ने ठेला किनिदिन्छु । व्यापार गर्नुहोस् । काम गर्न लजाउनु हुँदैन । समूहमा काम गर्नुहोस् पैसा कमाउनुहोस् भने ।’
नेविसंघ रामेछापको जिल्ला अध्यक्ष बुढाथोकीलाई जिम्मेवारी दिएपछि विवाद छ । जसअनुसार कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।
उता नेविसंघ रामेछापकै एक समूहले यसअगाडि एक भेलाले सङ्गठनका उपाध्यक्ष विमल पौडेलको संयोजकत्वमा निर्वाचन सम्पन्न भएको एक महिनाभित्र पालिका, क्षेत्र र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
सो समूहको निर्णय अनुसार यही पुसको ४ गते सम्म नेविसंघ रामेछापले जिल्लामा अधिवेशन सक्नु पर्ने छ । बुढाथोकीलाई जिल्ला अध्यक्ष बनाएपछि नेविसंघ रामेछापको भेला छुट्टा छुटै गरिएको थियो ।
