नेविसंघ रामेछापका अध्यक्षले गरे सांसदहरूलाई सम्मान
१ पुस, रामेछाप। नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले गत मंसिर ४ गतेको निर्वाचनबाट नवनिर्वाचित सांसदहरूलाई सम्मान गरेको छ ।
शुक्रवार सदरमुकाम मन्थलीमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी अध्यक्ष विनोद बुढाथोकीले नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य (सांसद) पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सांसद युवराज चौलागाई र तारानारायण श्रेष्ठलाई सम्मान गरेका हुन् । सांसद श्रेष्ठ भने पारिवारिक कारणले उपस्थित थिएनन् ।
सांसदहरूलाई सम्मान पत्रमा फोटोसहितको बधाई तथा शुभकामना दिँदै अध्यक्ष बुढाथोकी सहितको टिमले सम्मान गरेको हो । नेविसंघ रामेछापको जिल्ला अध्यक्ष बुढाथोकीलाई जिम्मेवारी दिएपछि विवाद छ । जसअनुसार कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।
सम्मान कार्यक्रममा पार्टी उपसभापति लेखबहादुर कार्की, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) माओवादी केन्द्र मन्थली नगर कमिटी उपाध्यक्ष दीपक प्रसाईँ, कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठ, बागमती प्रदेश महाधिवेशन प्रतिनिधि सुजन ढुङ्गेल लगायत बुढाथोकी निकट नेविसंघ नेता र मन्थली मावि र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थीहरूको उपस्थिति थियो ।
