रामेछापमा एकिकृत समाजवादीले गर्‍यो निर्वाचनको समीक्षा भन्यो ‘पार्टी थप बलियो, सुसङ्गठित र मजबुत बन्ने स्पष्ट आधार देखियो’

| मंसिर २२, २०७९ बिहिबार

A A A
A A A

२२ मंसिर, रामेछाप । नेकपा एकिकृत समाजवादी पार्टी (एस) रामेछापले निर्वाचनको समीक्षा गरेको छ । 

 

 

बुधवार सदरमुकाम मन्थलीमा बसेको पार्टीको पाँचौँ पूर्ण बैठकले गत मंसिर ४ गतेको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई छोटो समयमा दिएको जनमतको आधार विश्वासिलो र बलियो भएको निष्कर्ष निकालेको छ । 

 

 

पार्टी केन्द्रीय पोलिट्ब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेलले छोटो समयमा यो जनमत पाउनु पार्टीको आगामी दिनमा भविष्य राम्रो छ भन्ने पुष्टि भएको र अबको दिनमा पार्टी थप बलियो हुने स्पष्ट सङ्केत मिलेको बताए ।

 

त्यस्तै उनले सङ्गठित रूपमा अगाडि बढ्ने निष्कर्ष पार्टीले निकालेको रामेछाप टाइम्सलाई बताए । उनले भने ‘अरू बनाएको खाना, तयार खाना खान्छन्, हामी सबै आफै पकाएर खानेछौँ, मिठो खान्छौँ । यो छोटो अवधिमा जुनखालको जनमत पायौँ, मत विश्वासिलो र आगामी दिन उज्ज्वल छ भन्ने हाम्रो निष्कर्ष हो ।’ 

 

 

 

पार्टीले निर्वाचनमा पाएको मतले भोलिको दिनमा पार्टी थप बलियो, सुसङ्गठित र मजबुत बन्ने स्पष्ट आधार देखिएकाले पार्टी थप सक्रिय भएर लाग्न सो पार्टीको करिब ९ घण्टा लामो छलफलले निष्कर्ष निकालेको उनको भनाई छ । 

 

बैठकले मतदाता, निर्वाचन सफल पार्ने सम्बन्धित निकाय प्रशासन, सुरक्षाकर्मी, पत्रकार सबैलाई धन्यवाद् दिँदै आगामी दिनमा जनताले परिवर्तन खोजेको स्पष्ट संकेत देखिएको समेत पार्टीले भनेको छ ।

 

 

गत मंसिर ७ गते बुधवार राति जिल्लाको मतगणना नसकिँदै जिल्ला पार्टी अध्यक्ष रमेशकुमार बस्नेतले पार्टीले जनताको अपेक्षाकृत बलियो मत पाउन नसकेको भन्दै सामाजिक सञ्जालबाट राजीनामा दिएका थिए । पछि उनले सामाजिक सञ्जालबाट राजीनामा हटाएका थिए ।

 

 

त्यस्तो अवस्थामा बुधवार उनकै अध्यक्षतामा बसेको बैठकले पार्टी थप बलियो बनाएर तल्लो तह सम्म लैजाने बारेमा छलफल गरेको हो । 

 

 

अध्यक्ष बस्नेतको राजीनामा सामाजिक सञ्जालमा लेखिएको र एक छिनमा हटाइएको भन्दै त्यो आवेगमा मात्रै भएको र आगामी दिनमा बस्नेतकै अध्यक्षतामा पार्टी थप सक्रिय हुने उनले स्पष्ट पारे । ‘लिखित आएको थिएन । त्यो आवेगमा मात्रै भएको हो ।’ 

 

 

केन्द्रको गठबन्धनबाट अलगिँदै एस रामेछापले छुट्टै उम्मेदवारी दिएको थियो । दुई पार्टी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा रहँदा त्यसबाट अलगिँदै एसले प्रदेश सभा ‘क’ मा अध्यक्ष समेत रहेका बस्नेतले उम्मेदवार बनेका थिए । उनले कूल २ हजार ८८ मत पाएका थिए । 

 

 

हामीले समानुपातिकमा पनि अन्य जिल्लाको जस्ता मत पाएका छौँ हामी यसमा निरन्तर लाग्छौँ इन्चार्ज पौडेलले बताए ।