प्रदेश सभा ‘क’ मा एस पार्टीका रमेश बस्नेतले २०८८ मत मात्रै पाए
फाइल फोटो
१० मंसिर, रामेछाप । रामेछाप प्रदेश सभा ‘क’ मा केन्द्रको गठबन्धनलाई लत्त्याउँदै छुट्टै उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धा गरेका एकीकृत समाजवादी पार्टी (एस) रामेछापलाई मतदाताले लज्जास्पद मत दिएका छन् ।
निवर्तमान मन्थली नगरपालिकाका प्रमुख समेत रहेका रमेशकुमार बस्नेत प्रदेश सभा सदस्यको लागि एसबाट उम्मेद्वार बनेका थिए । उनीहरूले प्रदेश सभा तर्फका मतदाताको घर घर पुगेर मत मागे पनि मतदाताले भने उनको चुनाव चिन्हमा न्यून मतदान गरेका हुन ।
जसमा गठबन्धनका दुई पार्टी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिस्पर्धी मत पाउँदा एस रामेछापका अध्यक्ष समेत रहेका बस्नेतले भने कूल २ हजार ८८ मत मात्रै पाएका हुन् ।
गठबन्धनबाट पार्टीका नेता, कार्यकर्ता रुष्ट बनेको र एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेल प्रति जनमत नरहेको दाबी सहित उम्मेद्वार बनेका बस्नेतले अन्ततः लज्जास्पद मत पाएपछि राजीनामा दिएका छन् ।
कूल ४१ हजार ७९६ मत गणना भएको यहाँ ४० हजार ४४ मत सदर भएको छ । यसरी खसेको मतमा उमाकुण्डबाट २१०, गोकुलगंगाबाट १९१, लिखु तामाकोशीबाट २८० मत बस्नेतलाई खसेको छ ।
त्यस्तै उनको गृह पालिका समेत रहेको मन्थली नगरपालिकाको वडा नं ३,४ र ५ बाट ६९२ मत आउँदा रामेछाप नगरपालिकाबाट ७१५ मत कलम चिन्हमा खसेको हो ।
गठबन्धनका उम्मेद्वारहरुले मिलेर जाने प्रयत्न गरे पनि उनले छुट्टै उम्मेद्वरी दिएका हुन् । गठबन्धनका उम्मेद्वारले बस्नेतलाई बागी उम्मेद्वर भनेका थिए ।
गठबन्धनका उम्मेद्वार र एमालेबिच चर्को प्रतिस्पर्धा देखिएको यहाँ गठबन्धन तर्फका माओवादी केन्द्र रामेछापका जिल्ला सचिव समेत रहेका तारानारायण श्रेष्ठ एमालेका शान्ति प्रसाद पौडेललाई १७ सय बढी मतान्तरले हराउँदै विजयी भएका छन् ।
