रामेछाप आएर माओवादीको कार्यक्रममा सहभागी भएको उजुरी परेपछि घिसिङलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
टंकलाल घिसिङ, फाइल फोटो ।
१ मंसिर, रामेछाप । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको भन्दै आयोगले घिसिङलाई यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको जारी पत्रमा उल्लेख छ । तर, घिसिङ विरुद्ध कसले उजुरी दिएको हो उल्लेख गरिएको छ ।
घिसिङलाई सोधिएको पत्रमा भनिएको छ ‘प्रदेश निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।’
त्यस्तै तपाईँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रचारप्रसार गरेको भएमा उक्त कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामती सेवा सम्बन्धी कानुन समेतको उल्लङ्घन हुने हुन्छ । उल्लेखित सन्दर्भमा तपाईँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रामेछाप जिल्लामा भएको कार्यक्रममा सहभागी हुनु भएको होइन भन्ने आधार कारण के छ ? तपाईँले कुनै दलको प्रचारप्रसार गरेको ठहर भएमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ। ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकोले उक्त कारबाही किन हुनु नपर्ने हो भन्दै आयोगका कानुन अधिकृत मोहन राज जोशीले जारी पत्रमा उल्लेख गरेका छन् ।
केही दिन अगाडि सदस्य सचिव घिसिङ गृह जिल्ला रामेछाप आएका थिए । उनी विरुद्ध जिल्लामा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।
आयोगले सोधेको स्पष्टिकरण माग पत्र हेर्नुहोस् ।

