दोरम्बा शैलुङ्गको गुन्सालमा गठबन्धनको कार्यक्रममा अहिले सम्मकै ठूलो उपस्थिति : उम्मेदवारलाई भव्य स्वागत, प्रचारप्रसारमा सबै दल व्यस्त (फोटोफिचर)

| कात्तिक २२, २०७९ मंगलबार

A A A
A A A

२२ कात्तिक, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत भएको छ । 

 

आज मंगलबार गाउँपालिकाको वडा नं ५ गुन्सालमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ र प्रदेश सभा ‘ख’ का उम्मेदवार एवं माओवादी केन्द्रका नेता युवराज चौलागाईलाई एउटै माला लगाएर स्वागत गरेको नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार कार्यक्रममा आज करिब एक हजारको हाराहारीमा स्थानीयहरू सहभागिता भएका छन् । खड्काले भने 'आजको कार्यक्रममा झन्डै एक हजारको हाराहारीमा मान्छेको उपस्थिति रह्यो । अन्य ठाउँको तुलनामा आज माहौल धेरै देखियो । कार्यक्रममा उम्मेदवार सहितका नेताहरूको भव्य स्वागत भयो । उम्मेदवारलाई एउटै मालाले स्वागत गरे ।’ 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति तामाङले स्थानीयलाई धन्यवाद दिए । उनले आउँदो निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई भोट दिएर जिताउन पनि अपिल गरेका छन् । अन्य ठाउँको कार्यक्रममा पनि उम्मेदवारलाई एउटै मालाले स्वागत गरिएको थियो । आजको त्यो भन्दा राम्रो भयो सचिव खड्काले बताए । 

 

 

नेपाली काँग्रेस र माओवादी केन्द्र आसन्न निर्वाचनमा गठबन्धन गरेर निर्वाचन मैदानमा छन् । २ प्रदेश सभा सदस्य र एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको रामेछापमा गठबन्धनको टिम १ नम्बर क्षेत्रको ‘क’ मा चुनावी अभियान सकेर प्रदेश सभा २ नम्बर क्षेत्र ‘ख’ मा मतदाता भेटघाट एवं चुनावी प्रचारमा व्यस्त छन् । 

 

गठबन्धनले प्रदेश सभा ‘क’ मा दोस्रो तहका नेताहरूको सक्रियतामा दोस्रो तहको मतदाता भेटघाट सुरु गरेका छन् । 

 

 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रामेछाप अहिले प्रदेश सभा ‘क’ मा निर्वाचन प्रचारप्रसारमा व्यस्त छ । त्यस्तै प्रदेश सभा 'ख' का उम्मेद्वार पनि प्रचारमा व्यस्त छन् । एमालेले मंगलबार उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल र वडा नं २ बाम्ति भण्डारमा कार्यक्रम गरेको छ । 

 

प्रतिनिधि र प्रदेश सभा ‘क’का उम्मेदवार कैलाश ढुङ्गेल र शान्तिप्रसाद पौडेल सहितका नेताहरू मतदाता भेटघाटमा व्यस्त छन् । 

 

 

त्यस्तै केन्द्रको गठबन्धनलाई लत्त्याउँदै छुट्टै उम्मेदवारी दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) रामेछाप प्रदेश सभा ‘क’ पनि प्रचारप्रसारमा छ । प्रतिनिधि र प्रदेश सभा ‘ख’ बाहेक ‘क’ उम्मेदवार खडा गरेको एसका उम्मेदवार रमेशकुमार बस्नेत पनि प्रदेश सभा ‘क’ का मतदातामाझ पुगी रहेका छन् । 

 

 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी, केही स्वतन्त्र उम्मेदवारसहितका दलहरू निर्वाचन प्रचार प्रसारमा व्यस्त छन् । 

 

तस्बिर हेर्नुहोस्