निर्वाचन आयोगको मिडिया अभिमुखीकरण : पत्रकारले भने ‘आचारसंहिता पालन गर्न प्रतिबद्ध छौँ, तर समाचार सामाग्री लिन रोक छेक हुनु भएन’
२० कात्तिक, रामेछाप । रामेछापका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश इन्दिरा शर्माले निर्वाचन आचारसंहिताभित्र रहेर समाचार प्रकाशन,प्रसारण गर्न आग्रह गरेकी छन् । पत्रकारहरूले भने मतदानसँग सम्बन्धित विभिन्न समाचार सामाग्री सहजताको साथ प्रकाशन प्रसारण र तस्बिर, भिडिओ लिन पाउनु पर्ने माग गरेका छन् ।
आइतबार जिल्ला निर्वाचन कार्यालय रामेछापले आयोजना गरेको एक दिने ‘मिडिया अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आयोगले निर्धारित गरेको आचारसंहिता भित्र रहेर सन्देश सम्प्रेषण गर्न आग्रह गरिन् । उनले भनिन् ‘हामी सबैले आचारसंहिता भित्र बाँधिएका छौँ । यसलाई सबैले पालना गर्नुपर्छ । मिडिया र मिडिया कर्मीले पनि यसको पूर्ण पालना गर्नुपर्छ । यसैभित्र रहेर सन्देश पुर्याउनु होला ।’
आचारसंहिताको सबैले पालना गरे कारबाही गर्नु पर्ने अवस्था नआउने भन्दै सञ्चार माध्यमले आफू पनि आचारसंहिता भित्रै रहेर काम गर्नु मुख्य जिम्मेवारी हुने उनको जोड् छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातेमालो आवश्यक भएको उनको भनाई छ ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर शाहले आयोगले हालसम्म गरेका काम, आगामी योजना, आयोगले लागू गरेका आचारसंहिता लगायतका विविध जानकारी गराएका छन् ।
प्रमुख शाहले निर्वाचनलाई सफल पार्न मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै आचारसंहिताको पूर्ण पालनाका साथ सफल पार्न सहयोगको अपेक्षा व्यक्त गरे ।

देशभरीका कूल मदताताको विवरण । स्रोत निर्वाचन आयोग नेपाल ।
त्यस्तै जिल्लका सहायक प्रमुख जिल्ला अधिकारी अनुस कुमार घिमिरेले चुनावका समयमा पत्रकारहरूले सत्य, तथ्य र निष्पक्ष रूपमा कलम चलाउनुपर्ने भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न समेत आग्रह गरे ।
उनले आचारसंहिता सबैलाई लागू हुने हुँदा यसको कार्यान्वयन पनि उत्तिकै महत्पूर्ण हुने रहने बताए ।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रामेछापका प्रमुख तथा पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकारहरुका विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, रेडियोकर्मी, अन्लाईन तथा राष्ट्रिय मिडियाका जिल्ला संवाददाता एवं पत्रकारहरूले आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाए ।
तत्कालीन अवस्थामा विभिन्न राजनीतिक दलले आचारसंहिता विपरीत अभिव्यक्त दिने, भाषण गर्ने, आरोप प्रत्यारोप गर्ने लगायत विभिन्न गतिविधि गरी रहेकोमा आयोगको ध्यानाकर्षण गरे ।
पत्रकारहरूलाई पनि मतदान लगाएका दिनहरूमा सहजताको साथ फोटो, भिडिओ लगायतका सामाग्री लिन पाउनु पर्ने जोड्दा माग गरे । विगतका निर्वाचनमा पत्रकारलाई मतदान स्थलमा प्रवेश गर्न समेत रोक लगाएको भन्दै यस्ता गतिविधि हुन नदिन आयोगलाई सचेत गराए ।
