रामेछाप प्रदेश सभा ‘क’ : ‘बिगुल’, शान्ति र रमेशकुमार बस्नेतमा को बलियो उम्मेद्वार ?
६ कात्तिक, रामेछाप । रामेछापमा प्रमुख राजनीतिक दलहरू यती बेला मतदाता भेटघाट एवं चुनावी प्रचारमा व्यस्त छन् । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यको लागि उम्मेद्वारहरु चुनावी मैदानमा छन् । प्रदेश सभा ‘क’ मा गठबन्धनका एक सहित नेकपा एमाले र एकिकृत समाजवादी पार्टीले आ–आफ्ना उम्मेदवार उठाएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट तारानारायण श्रेष्ठ ‘बिगुल’ प्रदेश सदस्यको लागि मैदानमा छन् ।
त्यस्तै एमालेबाट शान्ति प्रसाद पौडेल र एकिकृत समाजवादी पार्टीबाट रमेशकुमार बस्नेत छन् । अन्य स्वतन्त्र र साना दलहरूले पनि उम्मेदवार खडा नगरेका भने हैनन् । तर, यी मुख्य दलहरूकै वर्चस्व देखिन्छ ।
कुन उम्मेदवार कस्ता । गठबन्धनका श्रेष्ठ ।
गठबन्धनको टिमका उम्मेदवार तारानारायण श्रेष्ठ प्रदेश सभा २ का मतदाता हुन् । उनी आफैले पनि आफैलाई भोट दिन पाउने छैनन् । नेकपा (माओवादी केन्द्र) रामेछापका पार्टी सचिव रहेका श्रेष्ठ गठबन्धनको टिममा भोट माग्न व्यस्त छन्, यती बेला, त्यो पनि प्रदेश सभा ‘क’ मा । प्रतिनिधिसभाको उम्मेदवार बन्ने ठुलै चर्चा परिचर्चा चलाउन भ्याएपछि श्रेष्ठ गठबन्धन हुने केन्द्रको ठाडो आदेशलाई कार्यान्वयन गर्दै प्रदेशमा झरे, त्यो पनि आफ्नै क्षेत्रबाट अलग ।
गठबन्धनका उम्मेद्वारहरु दाँयाबाट तारानारायण श्रेष्ठ, पूर्णबहादुर तामाङ् 'कान्छाराम' रयुवराज चौलगाई ।
मन्थली नगरपालिका वडा नम्बर २ कठजोर घर भएका श्रेष्ठ माओवादी केन्द्रका पुराना नेता हुन् । जनयुद्ध देखिनै माओवादीमा होमिएका श्रेष्ठ २०६४ को संविधान सभा सदस्य पनि बने । वडादेखि केन्द्र सम्म पहुँच राख्ने श्रेष्ठ, सर्वहाराको पार्टी भन्ने माओवादीको नेता हुँ भन्छन् । तर, १५ वर्षसम्म जिल्लाबाट राजनीतिमा मूलधारमा देखिए पनि यहाँका जनताको मन जित्ने गरी काम गर्न भने नसकेको स्थानीयहरूको गुनासो सहितको आक्रोश छ ।
निरन्तर राजनीतिमा रहेर पनि उनी न, त, जनताले अनुभूति गर्ने गरी विकार र योजना नै दिन सकेका छन् । न,त, पार्टीमै देखिने गरी माहौल सिर्जना गर्न सकेका छन् । बरु, बेला बखत मन्थली बजारमा एक्ला–एकलै हिँडिरहेको देखिन्छन् । पार्टी बागमती प्रदेश सदस्य समेत रहेका श्रेष्ठसँग नागरिकका समस्या र गुनासाको पोका छन् । श्रेष्ठलाई काँग्रेस र माओवादीले काँध थापेर चुनाव जिताउन लागि परेको छन् । नागरिकको आक्रोश चुनावमा मत खसाल्ने बेला पोखिए श्रेष्ठले चुनाव जित्न असम्भव छ ।
एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल ।
यसै गरी प्रदेश सभा सदस्यको लागि फेरी पनि सत्ताको मोह चुम्ने दाउसहित एमालेका बागमती प्रदेश कमिटी सदस्य एवं पूर्व प्रदेश मन्त्री समेत बनेका शान्तिप्रसाद पौडेल र एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष रमेश बस्नेत पनि प्रतिस्पर्धामा छन् । त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने निश्चित बनेको क्षेत्र नं १ को यो पटकको निर्वाचन यसले पनि रोचक हुने पक्का छ ।
एमालेका नेता पौडेल गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता हुन । यद्यपि पौडेललाई गत निर्वाचनको जस्तो सहज भने छैन ।
किनकि, तत्कालीन समयमा एमालेलै जितेको आफ्नै पालिका, गोकुलगंगा गाउँपालिकामा अहिले काँग्रेसको राज छ । गोकुगंगामा एमाले अहिले एक वडा खुम्ची सकेको छ । यसले पनि पौडेललाई निर्वाचनमा सहज जित् निकाल्नु ‘फलामको चिउरा चपाउनु’ जस्तै छ । यसको फाइदा भने काँग्रेसका मतदाताले सहजता देखाए तारानारायणलाई हुने छ ।
एमाले नेता पौडेल पनि पार्टीका पुराना नेता हुन् । ‘मौकामा चौका’ हान्न माहिर नेता पौडेल प्रदेशको ४९ दिने उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीको स्वाद समेत चाखी सकेका छन् । एमालेमा ठुलो विद्रोह गरेर केपी शर्मा ओलीको तत्कालीन समयमा कटु आलोचक बनेका पौडेल माधव नेपालले एकिकृत समाजवादी पार्टी गठन गर्दा भने प्रदेश मन्त्री दिने ‘ललिपप’ देखिएपछि ओलीकै सरणमा पुगेका हुन् ।
मन्त्री पदभार ग्रहण गर्दै पौडेल । तस्बिर फाइल ।
पार्टीमा नेता कार्यकर्ताको माझमा सामान्य पकड् भएका नेता पौडेललाई प्रदेशमा फेरी पुर्याउने दृढ शक्ति सहित यति बेला चुनावी प्रचारमा एमाले व्यस्त छ । छोटो समयको लागि मन्त्री बनेको र तत्कालीन समयमा ठुलो काम गर्न नसकेको स्वीकार गरेका पौडेल निर्वाचित भए जन अपेक्षा अनुसार काम गर्ने आश्वासन दिँदै भोट माग्दै छन् । उनले मन्त्री भएका बेला एक÷दुई पटक जिल्ला आउनु बाहेक कुनै काम गर्न सकेनन् जिल्लाको लागि ।
भोट माग्दै एवं मतदातासंग भेटघाटमा पौडेलसहिका एमाले नेता ।
लामो समयदेखि जिल्लाबाट राजनीतिको मूलधारमै घुमफिर गरी रहेका पौडेलसँग हिजोकै जस्तो चुनावी एजेन्डा बोकेर मतदाता कहाँ पुग्दै छन् । तर, मतदाता भने परिवर्तन भैसकेको अवस्था छ । उनीहरू जिल्लाको विकास, रोजगारी, परिवर्तनशील नयाँ सोचलाई ल्याउनु पर्ने दृढतामा पुगिसकेको देखिन्छ । नयाँ एजेन्डा र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने नेतृत्व जिल्लाको आवश्यकता पनि हो । यसले पनि पौडेललाई पनि चुनाव जित्न निकै कठिन देखिन्छ ।
एकिकृत समाजवादीका रमेश बस्नेत ।
निवर्तमान मन्थली नगरपालिकाका प्रमुख एवं एकिकृत समाजवादी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेत तत्कालीन समयमा एमालेबाट मन्थली नगरपालिकाको प्रमुखमा विजयी भएका नेता हुन् । ५ वर्षे स्थानीय सरकारको नेतृत्व गरेका बस्नेत पुराना नेता मानिन्छन् । एकिकृत समाजवादी पार्टी गठन हुँदा एमाले छोडेर (एस) मा गएका बस्नेतसँग जसो–तसो स्थानीय स्तरमा नागरिकका गुनासा, समस्या र समाधान गर्नु पर्ने अनुभव बटुलेका छन् ।
मतदाता भेट्घाटमा बस्नेतसहित एकिकृत समाजवादीका नेताहरु ।
५ वर्षे कार्यकालमा आन्तरिक साना÷तिना विवाद बाहेक ठुलो कुनै पनि विवादमा नमुच्छिएका बस्नेत यती बेला प्रदेशको सदस्य बनेर जिल्लाको मुहार फर्ने धोको सहित भोट माग्ने दौड, धूपमा छन् । शनिवार देखी मात्रै चुनावी अभियान लिएर हिँडेका बस्नेत प्रदेशको लागि नयाँ अनुहार समेत हुन् ।
गठबन्धनलाई चुनौती दिँदै एकल उम्मेदवारी दिएर भोट माग्न व्यस्त बस्नेत आफूसँग स्थानीय तहमा सँगालेको ५ वर्षे अनुभव नै प्रदेशका नागरिकका समस्या समाधान गर्ने एक मात्रै अस्त्र ठानेका छन् । यद्यपि बस्नेतसँग एउटा चुनौतीको पहाड छ । त्यो हो, सानो सङ्गठन । सबै स्थानीय तह सम्म पुगेर पालिका र नगर कमिटी गठन गरेको उनको पार्टीको तल्लो तहमा भने, सङ्गठन गण्य मात्रमा देखिन्छ ।
कतिपय वडामा बनाएका समितिका अध्यक्ष सहितका पदाधिकारीहरू पनि एमालेमै गएका कारण एकिकृत समाजवादीको तल्लो तह साँघुरो छ । यसले पनि बस्नेतलाई पर्ने भोट अन्य पार्टीकै झर्नु पर्छ । गठबन्धन एक भएर निर्वाचनमा होमिनु र एमाले पनि आन्तरिक रूपमा बलियो देखिनुले भने बस्नेतलाई चुनाव जित्नु त्यसी सजिलो भने छदैछैन् ।
तर, स्थानीय स्तरमा बटुलेको अनुभव र विगतका उम्मेदवार भन्दा नयाँ भिजन, नयाँ अनुहार, खोज्ने मतदाताको लागि भने बस्नेतको विकल्प छैन । यद्दयपी प्रदेश ‘क’ मा कसले बाजी मार्ने भन्ने हेर्नलाई मंसिर ४ गते कर्नु पर्ने हुन्छ ।
