राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको संगठन विस्तार तिब्रः मन्थली र गोकुलगंगाका यी हुन् पदाधिकारी ?

| कात्तिक १, २०७९ मंगलबार

A A A
A A A

१ कात्तिक, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले संगठन विस्तारलाई तीव्रता दिएको छ । अन्य राजनीतिक दलहरू चुनावी कार्यक्रममा भ्याइ–नभ्याई हुँदा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी भने जिल्ला पार्टी कार्यालय सञ्चालन, नगर तथा पालिका कमिटी, वडा कमिटी गठनमा जुटेको बागमती प्रदेश सदस्य रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

गत ३० गते जिल्ला सदरमुकाम मन्थली, स्थित नगरपालिकाको विनीता चोकमा जिल्ला पार्टी कार्यालय आफूले उद्घाटन गरेर सञ्चालनमा ल्याएको रायमाझीले बताए । जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो संगठन विस्तारमा केन्द्रित भएको हो । 

गोकुलगंगा गाउँपालिका भेला

सङ्गठनलाई बलियो र तल्लो तहसम्मै पुर्‍याउनको लागि हालसम्म मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिकामा ११–११ सदस्यीय संगठन विस्तार गरेको रायमाझीले जानकारी गराए । 

 

 

जसमा मन्थली नगरपालिकामा नारायण बस्नेत सभापति, विवेक केसी उपसभापति, ध्रुव खड्का कोषाध्यक्ष र राजकुमार खड्का सचिव बनेका छन् । 

 

 

त्यस्तै सोमबार गोकुलगंगा गाउँपालिकामा गठित समितिमा सुमन खड्का सभापति, राजकुमार भुजेल उपसभापति, कोषाध्यक्षमा शान्ति बस्याल र सुजन खड्का सचिव बनेका छन् । 

 

मङ्गलवार आज उमाकुण्ड गाउँपालिकाको प्रितीमा पालिका भेला तथा पालिका कमिटी गठन गर्ने कार्यक्रम रहेको बागमती प्रदेशका महामन्त्री देव बिकले रामेछाप टाइम्सलाई बताए आफूहरू त्यसतर्फ जाँदै गरेको उनले बताए । 

 

 

बुधवार भोलि लिखु तामाकोसी गाउँपालिकामा भेला, कमिटी गठन र कार्यालय उद्घाटन हुने जानकारी दिए । 

 

त्यसैगरी जिल्लाका आठ वटै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारको कार्यक्रम आयोजना गरेको महामन्त्री बिकले बताए । 

 

आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा मात्रै उम्मेदवार उठाउने नीति अनुसार जिल्लाको एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट समीक्षा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ आफूलाई निर्वाचनमा जिताउन अपिल गरी प्रचार प्रसारमा छिन् ।