एकिकृत समाजवादीले संघ र प्रदेश ‘ख’ मा गठबन्धनलाई सघाउने, ‘क’ मा बस्नेत बलिया उम्मेद्वार
रमेशकुमार बस्नेत ।
२९ असोज, रामेछाप । केन्द्रको गठबन्धनलाई चुनौती दिँदै एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एकिकृत समाजवादी पार्टी (एस) रामेछापले गठबन्धनसँगै जोडिने भएको छ ।
‘सिङ्ल’ उम्मेदवारी दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (एस) रामेछापले दुई जनाको उम्मेदवारी फिर्ता रोक्का गरेको छ ।
५ दलीय गठबन्धनमा आबद्ध भएर केन्द्रमा सरकारको समेत नेतृत्व गरिरहेको (एस) ले रामेछापमा आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको निर्णय विपरीत संघमा देवशंखर पौडेल, प्रदेशमा ‘क’ तर्फ रमेशकुमार बस्नेत, र ‘ख’ मा झम्क कँडेललाई उम्मेदवार बनाउँदै उम्मेदवारी दर्ता गरेको थियो ।
मुख्य निर्वाचन कार्यालय रामेछापले दर्ता भएको उम्मेदवारीमाथि फिर्ता लिन तोकेको दुई दिनको समयमा समेत फिर्ता भएको सङ्घतर्फ पौडेल र प्रदेशतर्फ कँडेलको उम्मेदवारी केन्द्रमा गठबन्धनको बैठकले रोक्ने निर्णय गरिएको जिल्ला अध्यक्ष बस्नेतले रामेछाप टाइम्सलाई बताए ।
‘उहाँहरूको उम्मेदवारी माथिबाटै हटाइएको छ । अब, संघमा सत्ता गठबन्धनको टिमलाईनै सहयोग हुन्छ । उहाँहरुलाईनै भोट माग्छौँ । तर, प्रदेश सभा ‘क’ तर्फ भने हाम्रो मित्रवात ‘कलम चुनाव’ चिन्हबाटै प्रतिस्पर्धा हुन्छ । मेरो उम्मेदवारी यथावत् छ । हामी चुनावी मैदानमै छौ । संघ र प्रदेश सभा ‘ख’ को लागि हाम्रो पार्टीको चुनावी प्रचार गर्दैनौँ जिल्ला पार्टी अध्यक्ष समेत रहेका बस्नेतले स्पष्ट पार्दै भने ।
चुनावमा कसरी जाने भनेर आफूहरूको छलफल तीव्र भइरहेको समेत उनले जानकारी दिए । पछिल्लो केही दिन यता (एस) ले गठबन्धनको निर्णय विपरीत हालको उम्मेदवार फिर्ता लिएको भन्ने चर्चा अन्यौलकाबीच चलिरहेको छ ।
चर्चा स्वाभाविक भएको भन्दै संघ र प्रदेश ‘ख’ तर्फ फिर्ता जस्तै भएको पुष्टि गर्दै बस्नेतले ‘क’ तर्फको उम्मेदवारी यथावत् रहेको जानकारी दिए ।

संघमा पौडेल र प्रदेश ‘ख’ मा रहेको उम्मेदवारी निर्वाचन कार्यालयमा भने माथिबाट पत्र ढिला आएकाले यथावत् रहने उनले बताए । तर, उनीहरूको लागि चुनावी प्रचार नगर्ने र गठबन्धनलाई सहयोग गर्ने निर्णयमा एकिकृत समाजवादी पुगेको निवर्तमान मन्थली नगरपालिकाको प्रमुख समेत रहेका बस्नेतले बताए ।
एसले बस्नेतलाई प्रदेशसभा 'क' मा बलियो उम्मेदवारको दाबी सहित चुनावी मैदानमा खडा गरेको जनाएको छ ।
