रामेछापका निजी विद्यालयहरूले आजदेखि सुरु गरे पठनपाठन
फाइल तस्बिर
१५ वैशाख, रामेछाप । रामेछापमा आज (मंगलबार) देखि निजी विद्यालयहरू सञ्चालनमा आएका छन् । सरकारले २१ वैशाख देखि यो वर्षको शैक्षिक सत्र देशभर एकै साथ सुरु गर्ने निर्देशन गरेको भए पनि जिल्ला सदरमुकाम मन्थली आसपास सञ्चालनमा रहेका निजी विद्यालयहरूले एक हप्ता अगाडि देखि नै यो वर्षको पठनपाठन अगाडि बढाएका हुन् ।
सोमबार बसेको निजी विद्यालय सञ्चालकहरू बैठकले आजदेखि औपचारिक रूपमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । नयाँ वर्ष २०८३ वैशाख २ गते देखि नै शिक्षकहरू नियमित विद्यालयमा शैक्षिक तयारी र व्यवस्थापनमा व्यस्त रहेको अवस्थामा भर्ना र किताब वितरणको कार्य सकिएपछि पठनपाठन थालिएको केब्स बोर्डिङ स्कूलका प्रधानाध्यापक एवं प्याब्सन रामेछापका अध्यक्ष केशव तिम्सिनाले रामेछाप टाइम्सलाई बताए ।
'भर्ना र किताब वितरण सकिएपछि विद्यालयका आएका बालबालिकालाई फिर्ता पठाउन हुन्न भन्ने ध्येयका साथ पठनपाठन थालेका हौँ' प्याब्सन रामेछापका अध्यक्ष तिम्सिनाले भने ।
रामेछापमा १९ वटा निजी विद्यालय दर्तामा देखिँदा १६ वटा सञ्चालनमा रहेका छन् । सरकारी विद्यालयहरूमा पनि शिक्षकहरू नियमित तयारीमा जुट्दा विद्यार्थी भर्ना र पुस्तक वितरण लगाएका कार्य धमाधम भइरहेको छ।
