काँग्रेसमा जेन्जी युवाहरूको आकर्षण हुने गरी नयाँ सदस्यता वितरण गरिन्छ –उपसभापति कार्की
२९ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले पार्टीमा जेन्जी युवाहरूले चाहे अनुसार पार्टीको नयाँ क्रियाशील वितरण हुने बताएका छन् । उनले भने ‘जेन्जी आन्दोलन पछि युवाहरूले राजनीतिलाई विशेष किसिमले हेर्न थालेका छन्, सोही बमोजिम युवाहरूको भावना र माग अनुसार नै जेन्जीलाई धेरै भन्दा धेरै प्राथमिकता दिएर नयाँ क्रियाशील वितरण हुन्छ ।’ जेन्जी आन्दोलनपछि युवाहरूले राजनीतिलाई सकारात्मक तरिकाले मूल्याङ्कन गरिहरेको आफूले महसुस गरेको उनको भनाई छ।
सोमबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचन र पार्टीको क्रियाशील सदस्यता बारेमा जानकारी गराउँदै उपसभापति कार्कीले ११ हजार ७ सय बढी क्रियाशील नवीकरण गरी इन्ट्रि सकिएको र इन्ट्रि सकिएकाहरू केही प्रिन्ट गरेर गलत भएको तथ्याङ्कलाई सच्याउने काम धमाधम भइरहेको बताए ।
‘क्रियाशील सदस्यता नम्बर नमिलेको, नाम बिग्रिएको जस्ता त्रुटि सच्याउने काम वडा सभापतिहरू सहितको सक्रियतामा भइरहेछ’, पार्टीको क्रियाशील र सदस्यता बारेमा जिम्मेवारी निर्वाह गरी रहेका उपसभापति कार्कीले दोहोर्याए ‘१८ वर्ष माथिका । मतदाता नामावलीमा नाम रहेका युवाहरूलाई काँग्रेसको बढी भन्दा बढी सदस्यता उपलब्ध गराएर जेन्जीहरुको आकर्षणको पार्टी बनाउनु पर्छ भन्ने केन्द्रकै निर्णय अनुसार हामी काम गर्दै छौँ ।’
रामेछापमा काँग्रेसको शनिवार सम्पन्न २७ औँ जिल्ला कार्यसमिति बैठकले नयाँ सदस्यता वितरण गर्ने निर्णय गरी वडा तहमा सदस्यता फारम समेत उपलब्ध गराइ सकिएको उपसभापति कार्कीको भनाई छ । ‘यति उति भन्ने छैन । आवश्यकताको आधारमा जति पनि वितरण गर्ने । तर, लगेको फारमको दुरुपयोग भने हुन दिइने छैन ।’
कार्यकर्ता तहमा भने एक वडामा १०० जनाको दरले नयाँ सदस्यता वितरण गर्ने हल्ला फैलिएपछि उक्त विषयमा स्पष्ट पार्दै कुनै वडामा निश्चित नतोकी आवश्यकताको आधारमा सदस्यता वितरण गर्न सकिने पार्टी सभापति पूर्णबहादुर तामाङको भनाई छ । ‘जति पनि सदस्यता फारम उपलब्ध गराइन्छ तर त्यो फारम सही ठाउँमा कार्यान्वयन हुनु पर्यो । नभरेको भए खाली प्राप्त हुनु पर्यो । भरेको भए सदस्यता देखिनु पर्यो ।’
