कुलमान जिलाई रामेछापमा ‘बजेट हाल्दिनु पर्यो भन्दा टेक्ने ठाउँ नै छैन भन्नु भयो’ – कान्छाराम
पार्टीको काममा लाग्न नेता कार्यकर्तालाई निर्देशनसंगै एक भएर अगाडि बढ्दै पार्टीलाई बलियो बनाउनु पर्ने
२८ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई गृह जिल्ला रामेछापमा बजेट व्यवस्था गरी दिन आग्रह गरेको जानकारी गराएका छन् । निवर्तमान राज्य मन्त्री एवं विघटित संसद्का सांसद समेत रहेका सभापति कान्छारामले आइतबार पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै भने ‘मैले मन्त्री कुलमान जिलाई पनि भेटेर रामेछापमा बजेट पारिदिनु पर्यो भने तर उहाँले टेक्ने ठाउँ छैन भन्नु भयो ।’
प्रदेश र केन्द्र जहाँबाट भए पनि रामेछापमा बजेट व्यवस्था गरेर जिल्लाको विकास गर्नु पर्ने सभापति तामाङको जिकिर छ । तर, जिल्लाका नेताहरूको पहुँच कम हुँदा बजेट पार्न निकै चुनौती रहेको उनको गुनासो छ।
जिल्लामा तत्कालीन ओली सरकारकाले पनि बजेट नदिँदा आफूले मन्त्रीहरुलाईलाई बजेटकै लागि ‘दुस्मनी मोलेको’ स्मरण गर्दै संविधान बाहिरबाट बनेको सरकारमा जिल्ला बासी कुलमान घिसिङ मन्त्री बनेकाले उनीसम्म पुगेर बजेट माग गरेको सुनाएका हुन् । यो सरकार पनि संविधान भन्दा बाहिर बाटै बनेको टिप्पणी गर्दै कुलमानले बजेट माग्दा टेक्ने ठाउँ छैन भनेपछि ‘तपाई कहाँ टेकेर मन्त्री हुनु भयो’ समेत भनेको सुनाए ,

जेन्जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारमा रामेछापकै घिसिङ मन्त्री बनेपछि खैरेनी घाटको पुल निर्माण प्रक्रिया अगाडि बढेकोमा खुसी व्यक्त गरेका काँग्रेस सभापति तामाङले बजेट भने न्यून हुँदा सोचे अनुसार काम गर्न नसकिएको स्वीकार गरे ।
आगामी प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारी सिफारिस गर्न बसेको विस्तारित बैठकमा आफू निर्वाचित भए यता देखिएका समस्या र चुनौतीका बारेमा उल्लेख गर्दै कार्यकर्ता माझ प्रस्तुत भएका सभापति तामाङले आगामी निर्वाचनमा पार्टीबाट जसले टिकट पाए पनि केन्द्रमा बलियो पहुँच राख्ने र उल्लेख्य बजेट पारेर जिल्लाको बृहत्तर विकास गर्न लाग्नु पर्ने योजना सुनाए । ‘मैले त जानेर, नजानेर पार्टी चलाए । म भन्दा जान्ने कोही आउँछ भने पनि अब अधिवेशनले ल्याउँछ’, जो निर्वाचित बनेर कार्यकर्ताले रुचाएर आउँछ। टिकट ल्याउँछ । हामी सबै एक बनेर जित्ने र बजेट ल्याएर काम गर्नु पर्छ ।’
आफूले सांसद र राज्य मन्त्री बनेर पनि पर्याप्त बजेट ल्याएर जनताका आवश्यकता परिपूर्ति नसकेकोमा पटक–पटक क्षमायाचना गरेका सभापति तामाङले केन्द्रले तोके अनुसार वडा, जिल्लाको अधिवेशन गर्न केन्द्रित हुनु पर्नेमा आग्रह गरे । जेन्जीका मागहरू युवा नेतृत्वमा आउनु पर्छ भन्नेमा आफू सकारात्मक रहेको तर्क गरेका सभापति तामाङले पदमा बस्नको लागि युवाहरू वडा, क्षेत्र हुँदै जिल्ला सम्म क्रियाशील हुनु पर्नेमा जोड् दिए ।
