सुन्दर घिमिरे नेतृत्वको नेपाल बाल संगठन रामेछापले पायो पूर्णता

| कात्तिक ३०, २०८२ शनिबार

A A A
A A A

२९ कात्तिक, रामेछाप । चार महिना अगाडि नेपाल बाल संगठन रामेछापको तदर्थ समितिको अध्यक्षको जिम्मेवारी पाएका सुन्दर घिमिरेले अधिवेशन गराएर आफू नेतृत्वको टिम पूरा गराएका छन् । उनले अब ३ वर्षे कार्यकाल जिल्लामा बालबालिकाको हक अधिकारको क्षेत्रमा काम गर्ने जिम्मेवारी लिएका हुन् । उनलाई ४ महिना भित्र अधिवेशन गरी टिम तयार पार्न दिएको जिम्मेवारी पूरा गरेका हुन् ।

 

शुक्रवार मन्थली सम्पन्न पहिलो जिल्ला सभा तथा जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको नेता घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो समितिले पूर्णता पायो अब ३ वर्ष हामीले बालबालिकाको हक, अधिकार र यसले निर्धारित गरेका क्षेत्रमा काम गरेर देखाउनु पर्ने छ ।’

 

नेकपा एमाले निकट युवा संघको विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा भ्रमण गरी अनुभव सँगालेका युवा नेता घिमिरेले काम गर्ने अवसर पाएको र गरेर देखाउनु पर्ने चुनौती रहेको जानकारहरुको विश्लेषण छ ।   

बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र निवर्तमान मेयर रमेश कुमार बस्नेतसहितको उपस्थितिमा मन्थली माविमा सम्पन्न जिल्ला अधिवेशनबाट समितिको उपाध्यक्षमा द्वारिका कार्की, कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकीलाई सर्व सहमतिमा समितिमा चयन गरिएको हो । 

 

त्यस्तै, सचिवमा केही समय यता नै संगठनको जिम्मेवारीमा मनोनीत गरिएका पवन घिमिरेले नै जिम्मेवारी लिएका छन् । भने, सदस्यमा सीता पुरी, भवानी खड्का, रमेश हरि श्रेष्ठ र सन्देश साहीलाई मनोनीत गरिएको अध्यक्ष घिमिरेले बताए । 

 

५३ जनाको जिल्ला सदस्यहरूबाट उनीहरू ३ वर्षे कार्यकालको लागि चयन भएका हुन् ।