सरकारै निर्वाचन बिथोल्छ अनि एमाले भाग लिँदैन भनेर गलत प्रचार गरिँदै छ– एमाले नेता चौलागाई

| कात्तिक २९, २०८२ शुक्रबार

A A A
A A A

२८ कात्तिक, रामेछाप । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाईले अहिलेको सरकारले निर्वाचन मैत्री वातावरण बनाउनुको साटो बिथोल्ने काम गरेको आरोप लगाएका छन् । एमाले निर्वाचन विरोधी नभएको र निर्वाचनमा भाग लिँदैन भनेर गलत प्रचार गरिने गरिएकोमा असन्तुष्ट देखिएका नेता चौलागाईले निर्वाचनको लागि अनुकूल वातावरण बने शान्ति पूर्ण, लोकतान्त्रिक विधिमा भाग लिने उनको तर्क छ ।

 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । भने, धमाधम मतदाता नामावली दर्तासहितका कार्यहरू अगाडि बढी रहेको अवस्था छ । साथै, दैनिक नयाँ–नयाँ दलहरू समेत दर्ता भइरहेका छन् ।  

 

शुक्रवार एमाले रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज चौलागाईले सरकारले प्रतिशोध साँध्दै स्थान तोकेर हिँड्न समेत रोक लगाउने अनि एमाले निर्वाचनको विरोधी हो भनेर प्रचार गर्नु गलत भएको धारणा राखे । ‘निर्वाचन हुन अनुकूल वातावरण ख ? हामीले बनाएको संविधानले दिएको व्यवस्थालाई खलल पार्ने काम भइरहेको छ । हतियार लुटिएका छन् । अपराधीहरू बाहिर छन् ।....तिनीहरूलाई पक्राउ गर्दा यो सरकारले छोड् भन्छन्’, ... निर्वाचन सरकार आफै बिथोलिरहेको आरोप लगाउँदै नेता चौलागाईले थपे ‘निर्वाचनको वातावरण भए शान्तिपूर्ण प्रतिस्पर्धामा हामी लोकतान्त्रिक पार्टी भएको कारण एमाले जान्छ ।’

 

भदौ २४ मा भएको जेन्जी आन्दोलन देशी–विदेशी शक्तिहरूले ‘राष्ट्र भक्ति नेता’ ओली नेतृत्वको सरकार ढाल्न हाइज्याक गरेको जिकिर गरेका नेता चौलागाईले केपी ओली राष्ट्र भक्ति नेता भएको दोहोर्‍याए । जेन्जीहरुका माग राम्रा भए पनि ‘पश्चिमा शक्तिहरूको’ प्रभाव प्रत्यक्ष परेको जिकिर गर्दै पोलिट ब्युरो सदस्य नेता चौलागाईले जेन्जी नेताको पहिचान बनाएका युवा सुदन गुरुङ र बालेन शाह जस्ता युवाहरूको कारण पश्चिमा शक्तिहरूले विध्शं मच्चाएको उनको दाबी छ । 

 

त्यस्तै प्रदेश कमिटीका नेता एवं पूर्व सांसद शान्ति प्रसाद पौडेलले पनि जेन्जी आन्दोलनको नाममा राष्ट्र द्रोह, प्रति आन्दोलन गरिएको जिकिर गरे । राज्यका संयन्त्रहरू परिचालन गर्ने जिम्मेवारी तत्कालीन सरकारमा बसेकाहरूले लिनु पर्ने भन्दै त्यस्ता घटनाको निश्चपक्ष छानबिन गर्नु पर्ने माग गरे । जेन्जी आन्दोलनको बहानामा देशमा विदेशी सेना समेत भित्र्याउने योजना रहेको बताएका नेता पौडेलले निश्चपक्ष छानबिन गर्न संयुक्त राष्ट्रसंघ समेत जानु पर्ने बताए ।