रामेछापमा जेन्जी आन्दोलनपछि पहिलो पटक पालिका स्तरमा एमालेको भेला

| कात्तिक २६, २०८२ मंगलबार

तस्बिर स्रोत प्रकाश कुमार कार्की फेसबुक ।
A A A
A A A

२५ कात्तिक, रामेछाप । नेकपा (एमाले) को केन्द्रीय निर्देशन अनुसार आज एमाले रामेछापले जिल्लाका सबै पालिकामा ‘अगुवा कार्यकर्ता भेला’ सम्पन्न गरेको छ । गएको भदौ २४ गतेको जेन्जी आन्दोलन पछि एमाले रामेछापले पालिका तहमा पहिलो पटक एकै चरणमा औपचारिक कार्यक्रम सम्पन्न गरेको हो । 

 

खाँडादेवी गाउँपालिका–५ गोगनपानी स्थित गाउँपालिका कमिटीद्वारा आयोजित भेला पालिका कमिटी अध्यक्ष मोतीलाल तामाङसहित बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, ज्ञान कुमार श्रेष्ठ, जिल्ला सचिव प्रकाश कार्की, पालिका कमिटी सदस्यसहित करिब ७० जनाको उपस्थितिमा कार्यक्रम भेला सम्पन्न गरेको छ । 

पालिका केन्द्र देखि  गोगनपानी सम्म शान्ति पूर्ण रूपमा विभिन्न नारासहित र्‍याली गरिएको थियो । र्‍यालीमा उनीहरूले ‘नेकपा एमाले जिन्दाबाद’ , भदौ २३ र २४ गतेको घटना छानबिन गर, हिंसा र आतंक बन्द गर जस्ता नारा लगाएका थिए । 

 

त्यस्तै, लिखु तामाकोसी गाउँपालिका–३ धोबीमा पनि पार्टी कमिटी  अध्यक्ष केशवबहादुर पौडेल (केवी) को अध्यक्षता, प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पौडेल, प्रदेश कमिटी सदस्य दीपशिखा दाहाल, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियासहित  करिब ८० जनाको उपस्थितिमा भेला सकिएको जानकारी प्राप्त भएको छ । 

 

त्यस्तै सुनापति गाउँपालिकाको हिलेदेवीमा पनि मङ्गलवार र्‍यालीसहित नेकपा एमालेको भेला गरिएको छ ।