रामेछाप काँग्रेसको १२ हजार बढी क्रियाशील मध्ये ९ हजार ७५३ ले गरे नवीकरण, कुन पालिकामा कति क्रियाशील (सूचीसहित)

| कात्तिक २०, २०८२ बुधबार

A A A
A A A

१९ कात्तिक, रामेछाप । नेपाली काँग्रेस रामेछापको क्रियाशील सदस्य नवीकरण सन्तोष जनक ढङ्गले अगाडि बढेपछि पार्टीका नेता कार्यकर्ता ढुक्क देखिएका छन् । यद्दयपी नवीकरण गर्ने सदस्यको संख्या भने अघिल्लो जिल्ला अधिवेशनको तुलनामा दुई हजार जनाको हाराहारीमा घटेको छ । नयाँ सदस्यताको फारम समेत सभापतिलाई प्राप्त भइसकेकाले पार्टीको निर्देशन भए एक हप्ता भित्रै नयाँ सदस्यता वितरण सम्पन्न गर्न सकिने रामेछाप काँग्रेसको भनाई छ । 

 

बुधवार सम्म ‘सप्ट्योरमा इन्ट्रि’ सकिएका ९ हजार ७ सय ५३ जनाको नवीकरण गरिएको पार्टी उपसभापति एवं सप्ट्योरमा सदस्यता इन्ट्रि गरिरहेका नेता लेखबहादुर कार्कीले रामेछाप टाइम्ससंग भने ‘यो संख्या चिन्ता जनक हैन । सन्तोष जनक देखिएको छ’, विगतमा एकै व्यक्तिको नाम दोहोरिएको, मृत्युवरण गरेका, पाटी छोडेकाहरूको र विदेश गएकाहरूको संख्या समेत काटेर यो संख्या उल्लेख्य भएको सुनाउँदै उपसभापति कार्कीले प्रष्ट पारे ‘अझै नयाँ सदस्यता भर्नै बाँकी छ ।’

 

यो सङ्ख्यामा वडा तहले माग गरेको खण्डमा जिल्ला कार्यसमितिले निर्णय गरेर २५ प्रतिशत सम्म थप गर्न सकिने समेत बाटो खुल्ला रहेको बुझिएको छ । नवीकरण निकै पारदर्शी र ‘किलिएर’ रूपमा गरिएको दाबीसहित उपसभापति कार्कीले पार्टी विधानले व्यवस्था गरे बमोजिम जिल्ला पार्टी सचिवद्वय (दीपक खड्का र विनोद कार्की) को समितिले जिल्ला कार्यसमिति बैठकमा पेस गरेर त्यहाँबाट पारित भएकाहरूको नियम र प्रक्रिया अनुसार नवीकरण गराइएको जानकारी दिए । 

 

सदस्यता नवीकरण गर्ने नेपाली काँग्रेसले प्रति सदस्य रु २०० रुपैयाँ शुल्क बुझ्दै आएको छ । क्रियाशील सदस्य सङ्ख्यामा अन्य पार्टीको तुलनामा आफू जिल्लाकै अब्बल पार्टी रहेको दाबी गर्दै आएको काँग्रेस रामेछापले नयाँ सदस्यता युवाहरूलाई लक्षित गरी वितरण गरिए यो संख्या झण्डै दोब्बर पुग्ने आंकलन गरेको छ ।

 

१४ औं जिल्ला महाधिवेशनबाट सभापति बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) नेतृत्वको काँग्रेस रामेछापले विभिन्न आन्तरिक विवाद र गुटउपगुटको चरम द्वन्द्वमा अलमलिएको अवस्थामा पनि पार्टीका कार्यकर्ताले भने पार्टीलाई बलियो र एक ढिक्का बनाउनु पर्नेमा जोड् दिँदै आफ्नो सदस्यता नवीकरण गर्न तल्लीन देखिएको पार्टीका एक नेताको भनाई छ । ‘पार्टीका नेताहरू आ–आफ्नो स्वार्थमा लागे पनि अब हामी एक भएर अगाडि बढ्नु पर्छ र पार्टीलाई बलियो बनाउनु पर्छ भनेर विशेष गरी युवा नेताहरूको पहलमा नवीकरण गरिएको हो’, ती नेताले भने ।

कुन स्थानीय तहमा कति क्रियाशील नवीकरण ?

पार्टीलाई तल्लो तह सम्म चलायमान र क्रियाशील बनाउन १०० दिने अभियानसहित विभिन्न अभियानहरू संचालन गर्दै आएको वडा तह सम्म पुगी आफ्नो संख्या बढाउने दाउमा लागेको काँग्रेस रामेछापको आठै स्थानीय तहको तथ्याङ्कलाई हेर्ने हो भने सबै भन्दा बढी १४ वटा वडा रहेको जिल्ला सदरमुकाम मन्थली मै क्रियाशील संख्या देखिएको छ । 

 

नेपाली काँग्रेस रामेछापले उपलब्ध गराएको विवरण अनुसार मन्थली नगरपालिकामा सबै भन्दा धेरै २ हजार २५६ जना क्रियाशील सदस्यले आफ्नो सदस्यता नवीकरण गरेका हुन् ।  यो नगरमा व्यवहारिक रूपमा भने काँग्रेसले आफ्नो जनमत बलियो बनाउन सकेको देखिँदैन । त्यसैले पनि यो नगरमा गएका निर्वाचनहरूमा काँग्रेसले वडा अध्यक्ष बाहेक अन्य पद जित्न सकेको छैन । 

 

काँग्रेसले आफ्नो एक मात्रै ‘पकड’ कै र बर्चस्वोको रूपमा लिएको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा एक हजार १२८ जना क्रियाशील सदस्यले आफ्नो सदस्यता नवीकरण गराएको जनाएको छ । यो नगरमा काङ्ग्रेसबाटै दुई कार्यकाल बहुमत वडा अध्यक्षसहित नेतृत्व समेत गर्दै आएको छ । 

 

उता दुर्गम क्षेत्रको पहिचान बोकेको उमाकुण्ड गाउँपालिकामा पनि काँग्रेसको सदस्यता नवीकरण सन्तोष जनकै देखिएको त्यहाँका नेताहरूको भनाई ७ वडा वडा रहेको उमाकुण्डमा ५ सय ५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको काँग्रेस सचिव दीपक खड्काले बताए ।  २०७४ को निर्वाचनको तुलनामा बलियो बन्दै २०७९ मा गाउँपालिका अध्यक्ष र वडाहरू समेत जित्न सफल लिखु तामाकोसी गाउँपालिकामा ७ सय ५० जनाले क्रियाशील नवीकरण गरेको क्षेत्र नं १ का क्षेत्रीय सभापति निरोज खड्काले बताए । 

क्रियाशिल सदस्यताको विवरण बुझ्दै, बुझ्दै । तस्बिर अर्काइभ ।

 

०७९ को निर्वाचनमा काङ्ग्रेसबाटै जिल्लाकै युवा नेतृत्वसहित बलियो पकड देखाएको गोकुलगंगा गाउँपालिकामा पनि सदस्यता नवीकरण सन्तोष जनक देखिएको काँग्रेस रामेछापले जनाएको छ ।जिल्ला पार्टी सभापति तामाङको गृह पालिका समेत रहेको यो पालिकामा ९०६ जनाले क्रियाशील सदस्यता नवीकरण गरेको पार्टी सचिव खड्काले जानकारी दिए । 

 

गत निर्वाचनमा एक वडा मात्रै जितेर आफ्नो साख बचाएको खाँडादेवी गाउँपालिका भने काँग्रेसको क्रियाशील सदस्यताको संख्या एक हजार बढीले नवीकरण गराएका छन् । त्यहाँ पालिकामा अहिलेको नेतृत्व प्रति निकै असन्तुष्ट देखिएको अवस्थामा काँग्रेसको क्रियाशील नवीकरण थप बढ्ने विश्वास समेत पार्टीले लिएको क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले बताए । उनका अनुसार खाँडादेवीमा हाल सम्म एक हजार १७० जनाले आफ्नो क्रियाशील सदस्य नवीकरण गरेका हुन् । 

कांग्रेसको वडा केन्द्रित जागरण अभियान, तस्बिर अर्काइभ 

 

जिल्लाकै सबै भन्दा कम वडा भएको (५ वडा) सुनापति गाउँपालिकामा पनि काँग्रेसको सदस्यता अन्य पालिकाको तुलनामा निकै बलियो देखिएको छ । ०७९ को निर्वाचनमा एउटा वडा मात्रै जितेको यो पालिकामा पनि काँग्रेसको क्रियाशील सदस्यको संख्या भने एक हजार ८२८ जनाको इन्ट्रि सकिएको उपसभापति कार्कीले बताए । 

 

त्यस्तै सुनापति गाउँपालिकापछि नेकपा माओवादी केन्द्रको ‘गड’ मानिएको दोरम्बा शैलुङ् गाउँपालिकामा पनि काँग्रेसको सदस्यता संख्या ७ सय ६६ जनाले नवीकरण गराएको छन् । क्रियाशील सदस्यता लिने तर पार्टीलाई अप्ठ्यारो र आवश्यकता परेको बेलामा साथ नदिने परिपार्टीले गर्दा काँग्रेस प्रति जनताको वितृष्णा बढेकोमा नेताहरू नै सहमति प्रकट गर्छन् ।