किन भाँचियो २८ करोड भन्दा बढीको कुनौरिको पुल, इन्जिनियर पौडेल भन्छन् ‘निर्माण कम्पनीले एकदमै राम्रो काम गरेको हो’

०८ असार, रामेछाप । गएको वैशाख २६ गते ‘आंशिक’ रूपमा चर्किएको मन्थली भलुवाजोर–भटौली पक्किपुल आइतबार पूर्ण रूपमा भाँचिएको छ । सञ्चालनको पर्खाइमा रहेका यहाँका स्थानीय पुल भाँचिएसङै निराशा बन्न पुगेका छन् ।
आइतबार बिहान निर्माणको अन्तिम–अन्तिम चरणमा रहेको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर र ७ भटौली जोड्ने तामाकोशी माथि बनेको पक्की पुल भाँचिएपछि पुल निर्माण कम्पनी (ठेकेदार) को कार्यशैली प्रति प्रश्नै प्रश्न उब्जिएको हो । ‘पुल भाँचिनुको कारण भने यकिन हुन सकेको छैन ।’
गएको वैशाख २६ गते पुल निर्माणकै चरणमा एउटा बिचको स्ल्याब चर्किएको थियो । उक्त स्ल्याब मर्मत गरी काम भइरहेको बेला अन्तिममा आएर पुल पूर्ण रूपमा क्षति ग्रस्त बनेको हो । पुल बाँचिएपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । साथै, पुल बनेर दुई वटा वडालाई जोड्ने र सहजै आवात–जावत गर्ने अपेक्षामा रहेका थिए ।
सडक विभाग र निर्माण कम्पनी कालिका–कल्पवृक्ष जेबी काठमाडौँ बिच २०७७ भदौ १० गते २०८२ भदौ ०६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । भ्याट र पिएस् सहित कूल २८ करोड ८३ लाख ११ हजार ७ सय लागत स्टिमे रहेको यो पुल बाँचिए पछि सडक विभाग अन्तर्गतको पुल शाखाले सो समाचार तयार पार्दा सम्म पुल बाँचिनुको कारण पत्ता लाउन सकेको छैन ।
सडक विभाग अन्तर्गतको पुल शाखाका मन्थली कुरौनी पुलको प्राविधिक एवं इन्जिनियर नेत्र विल्लाश पौडेलले रामेछाप टाइम्ससंग भने ‘हामी छलफलमै छौँ, पुल भाँचिएको जानकारी आएकाले त्यस बारमा प्राविधिक कारण पत्ता लाउन लागि परेका छौँ ।’
यो कम्पनीले यति चाँडै, तदारुकताको साथ काम गर्दै रिपोर्टिङ पनि राम्रो भएको कम्पनी हो । त्यसैले निर्माण कम्पनीले नराम्रो काम गर्यो भन्न मिल्दैन’, प्राविधिक र निर्माण कम्पनीको मिलेमतोमा कमजोर काम गरिएको हो कि भन्ने रामेछाप टाइम्सको प्रश्नमा प्राविधिक पौडेलले भुक्तानीमा कडाइ गरिएको तर्क गर्दै भने ‘मेले मत्ता हुन्थ्यो भने त सबै भुक्तानी गइहाल्थ्यो नि ।’
पुल निर्माणको गुणस्तरमा प्रश्न उठ्ने ठाउँ नभएको दाबी गर्दै भने ‘कम्पनीले चाँडै काम गरेको थियो । साथै, गुणस्तरमा पनि राम्रो थियो । तर, यो पुल निर्माण गर्ने प्रविधि यहाँ नौलो हो त्यसैले यस्तो समस्या आएको हुन सक्छ’ । कुल २ सय ३० मिटर लम्बाई रहेको उक्त पुल ११ मिटर चौडाइ रहेको छ ।
भ्याट र पीएस आइटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरी निर्माण थालेको निर्माण कम्पनीले दुई वटा स्यालब बाहेकको भुक्तानी हाल सम्म नपाएको र अब पुल भाँचिनुको कारण पत्ता लगाएर नयाँ निर्माण गरी प्राविधिक परीक्षणसहित हस्तान्तरण गरेपछि मात्रै भुक्तानी प्रदान गरिने इन्जिनियर पौडेलले बताए ।
स्रोतका अनुसार पुल निर्माणको करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण कम्पनी जेबिले बुझेको छ । बर्खा सुरु भएकाले अहिले तत्कालै काम गर्न पनि समस्या देखिएको प्राविधिक पौडेलको भनाई रहेको छ ।
तामाकोशीमा पानीको बाहव बढ्दै गएको र भाँचिएको भाग पनि बिचमा परेका निर्माण तत्काल गर्न प्राविधिक समस्या हुन सक्ने उनको भनाई छ।