‘बाँझो जमिनमा व्यावसायिक खेती’ गर्नेलाई अनुदान दिनेसहित सुनापति गाउँपालिकाले आगामी वर्षको लागि ल्यायो यस्तो नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

०७ असार, रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि रामेछापका सबै स्थानीय तह भन्दा ‘पहिलो हुँदै’ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार हिलेदेवी स्थित पालिकाको सभा हलमा गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट (चौलागाई), प्रमुख प्रशासकीय अधिकृत एवं १८ औँ गाउँ सभाका सचिव सुरेश श्रेष्ठसहित ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू सहितको उपस्थितिमा पालिकाका अध्यक्ष एवं १८ औँ गाउँ सभाका सभाध्यक्ष ठुलो कान्छा तामाङले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम पेस गरेका हुन् ।आफूहरूले अगाडि सरेका लक्ष्य र उद्धेश्यहरु पूरा गर्नको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उल्लेख गर्दै भनिएको छ ‘समृद्ध, उद्यमी, सुखी सुनापतिः कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्ति’ ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा भएका र अवलम्बन गरेका नीति तथा कार्यक्रम, वार्षिक बजेट अन्तर्गत भएका क्षेत्रगत उपलब्धि भन्दै व्याख्यात्मक उल्लेखसहित ५ बुँदामा प्रस्ट्याइएको नीति तथा कार्यक्रममा आगामी वर्षको लागि ‘सुनापति गाउँपालिकाको सरोकार: महिला पुरुष समान अधिकार’, बालबालिका भविष्यका कर्णधार मात्रै हैनन्: वर्तमानका साझेदार पनि हुन्’, ‘हामी जोगाउँछौँ हाम्रो वन’, ‘सुनापतिको सान: डढेलो विरुद्ध हाम्रो अभियान’, ‘न्याय सम्पादन ढिलो हुनु न्याय नपाउनु सरह हो’ जस्ता मूल नारासहित आगामी वर्षको नीति सार्वजनिक गरिएको उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण पुर्याउन राष्ट्रिय परिचय पत्र वितरण वडा तहमै लैजान जिल्ला प्रशासनसँग सहकार्य गर्ने, गाउँपालिकाको त्रैमासिक आय व्ययको खर्च सार्वजनिक गर्ने, शहीद, बेपत्ता परिवार तथा घाइतेहरूलाई सूचीकृत गरी विशेष अवसरमा सम्मान गर्ने, नागरिकलाई सहज छिटो छरितो सेवा पुऱ्याउन सबै विषयगत शाखाहरूको सुदृढीकरण गर्दै चौमासिक, अर्धवार्षिक तथा वार्षिक कार्य योजना बनाइ लागु गर्ने जस्ता नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बाँझो जमिन उपयोग गर्न कम्तीमा १०० देखि ५०० रोपनी सम्मको जमिनमा व्यावसायिक खेती गर्न चाहेन समूहरतलाई अनुदान व्यवस्था गर्ने, ‘एक घर, एक बगैँचा कार्यक्रम सञ्चालन’ गरी मौसमी तथा बेमौसमी फलफूल, तरकारी, नगदे बाली र बुद्ध चित्त माला उत्पादन गर्न अनुदानसहित प्रोत्साहन गर्ने सहित बेरोजगार युवा लक्षित ‘बाँझो जमिन उपयोग’ कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सिप सम्बन्धी जानकारी तथा सिप प्रदर्शनीको लागि सिप मेलाको आयोजना गर्ने, थाङ्का, पेन्टिङ, गलैँचा उत्पादन, चिया प्रशोधन लगायत साना तथा घरेलु उद्योगको स्थापना गरी आन्तरिक युवा रोजगारी सिर्जना गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख लिएको छ ।
विगतदेखि ‘बेरुजुमा जिरो, लिजामा हिरो’ नारै चलाएको यो पालिकाले आगामी वर्षलाई भने बेरुजु कम गर्दै शून्य बेरुजुको नीति अवलम्बन गरिएको उल्लेख गरेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, पर्यटन, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, खेलकुद, उद्यम, सञ्चार जस्ता क्षेत्रमा नयाँ कार्यक्रम नल्याएको यो पालिकाले पुरानै नीति तथा कार्यक्रमलाई अगाडि सारेको देखिन्छ । यो पालिकाले नयाँ र थप ऊर्जा ल्याउने खालका कार्यक्रम भने अपेक्षा अनुसार प्रस्तुत गर्न नसकेको स्थानीयहरू तर्क छ । ‘विगतकै जस्तो नीति तथा कार्यक्रम सार्वजनिक भयो’ ।
भौतिक पूर्वाधार सँगै कृषि र पशुपालन क्षेत्रमा निकै राम्रो सम्भावना बोकेको यो पालिकामा कृषिको क्षेत्रमा विगतकै कार्यक्रमले निरन्तरता पाएको देखिएको छ । नयाँ र आश्वासन बाँड्ने कार्यक्रम मात्रै नल्याएर पुराना कार्यक्रमलाई सफलताको साथ कार्यान्वयन गर्ने योजनामा देखिएको यो पालिकाले सार्वजनिक गरेका कार्यक्रमहरूको कार्यान्वयन भने हेर्न बाँकी छ ।
शनिवार १८ औँ अधिवेशन तथा गाउँ सभा मार्फत सार्वजनिक गरिएको यो नीति तथा कार्यक्रममा दुई वटा संशोधन प्रस्ताव पेस भएको र ती संशोधन प्रस्ताव माथि छलफल गरी आगामी १० गते सार्वजनिक हुने बजेट सँगै पारित गर्ने योजनामा रहेको गाउँपालिका स्रोतले रामेछाप टाइम्सलाई बतायो ।
यो हेर्नुहोस् आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम