तामाकोशी बोर्डिङ्का विद्यार्थीले शिक्षक कुटेको प्रकरण : शिक्षकहरूले भने ‘जघन्य घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण’

१ असार, रामेछाप । रामेछापको मन्थलीमा संचालित तामाकोशी बोर्डिङ स्कुलमा विद्यार्थीले शिक्षक कुटेर घाइते बनाएपछि शिक्षकहरूले विज्ञप्ति मार्फत आपत्ति जनाएका छन् । पीडित शिक्षक अस्पतालमा उपचाररत रहेको बुझिएको छ । कुटिएका शिक्षक मन्थलीमा उपचार पछि थप उपचारको लागि काठमाडौँमा पठाइएको छ ।
गएको जेठ २७ गते मंगलबारका तामाकोशी अङ्ग्रेजी आवासीय विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र अग्रिम मानन्धरलाई विद्यालय प्राङ्गणभित्र सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र अनुराज घिसिङले कुटिरहेको देखेर छुट्याउन गएका शिक्षक प्रेमबहादुर बसेल (नेपाली विषय शिक्षक) लाई विद्यार्थी घिसिङले शिक्षकमाथि नै मुक्का प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए । यसरी शिक्षक माथि ‘अनुशासनहीन र उद्दण्ड व्यवहार गरेको’ भन्दै नेपाल शिक्षक संघ मन्थली नगर कार्य समिति, नेपाल राष्ट्रिय शिक्षक संगठन मन्थली नगर कार्य समिति, र ए. अखिल नेपाल शिक्षक संगठन मन्थली नगर कार्य समितिले शनिवार संयुक्त विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन् ।
‘शिक्षकमाथि भएको यो जघन्य घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ घटनाप्रति खेद व्यक्त गर्दै घाइते शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना सहित जारी विज्ञप्तिमा भनिएको छ’ घटनाको सत्य तथ्य छानबिन गरी उचित न्याय दिलाइदिनु हुन विद्यालय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायहरू समक्ष हार्दिक अपिल गर्दछौँ’