गोकुलगंगा गाउँपालिकामा पहिलो खुल्ला पुरुष ‘डबल्स ब्याडमिन्टन’ प्रतियोगिता हुँदै

७ जेठ, रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकामा पहिलो पटक खुल्ला पुरुष डबल्स ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा पहिलो पटक खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने लागेको पालिकाले जनाएको हो ।
गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार जेठ १५ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । केही दिन अगाडि एक सूचना जारी गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार गाउँपालिकाको ब्याडमिन्टन हल रस्नालुमा खेल खेलाइने छ ।
खेल प्रेमी तथा इच्छुक खेलाडीहरूका लागि खुल्ला गरिएको प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले जेठ १५ गतेभित्रै टिम दर्ता गरी सहभागिता जनाउ सकिने प्रशासकीय प्रमुख भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले नगद रु ३० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको हो । त्यस्तै, दोस्रो हुने टोलीले नगद २० हजार र तेस्रो हुने टोलीले रु १० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने बताइएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले प्रतियोगिता सफल बनाउन आवश्यक तयारी भइसकेको जानकारी दिँदै स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवर्द्धन र युवाहरूमा सकारात्मक ऊर्जा सिर्जना गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए ।