उमाकुण्डः अन्तरपालिका खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ चण्डेश्वरी प्रिती र महिला तर्फ खिजीदेम्बा गाउँपालिका विजेता

| बैशाख २८, २०८२ आइतबार

A A A
A A A

२८ वैशाख, रामेछाप। जिल्ला उमाकुण्ड गाउँपालिकामा आयोजित ‘अन्तरपालिका खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता’ सकिएको छ । शनिवार महिला तथा पुरुष तर्फका फाइनल प्रतिस्पर्धा गराएसँगै खेल सकिएको हो । 

 

प्रिती च्यादलु स्थित जिल्लाकै ठुलो दाबी गरिएको खेल मैदानमा खेलाइएको प्रतियोगितामा पुरुष तर्फको उपाधि मन्थलीको आकाशे ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलको अन्तरले हराउँदै चण्डेश्वरी यूथ क्लब प्रिती (उमाकुण्ड) विजेता भएको छ । उसले नगद १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाले जनाएको छ । 

 

विजेता खेलाडीहरूलाई पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधि लगायतको भव्य उपस्थितिमा नगद पुरस्कार राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । उनले खेलकुदलाई पालिकाले अभिन्न अंगको रूपमा लिएको धारणा राख्दै अनुशासित र मर्यादित खेलाडीहरू उत्पादनमा जोड् दिएको बताए । खेल सामापन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गरेका पालिका अध्यक्ष सुनुवारले उभौली पर्वको शुभकामना व्यक्त गरे । खेल आर्थिक, सामाजिक, सांस्कृतिक तथा वैयक्तिक रूपमा जोडिएकाले पालिकाले खेललाई अभिन्न रूपमा लिएको धारणा राखे । 

उमाकुण्ड गाउँपालिकाको प्रायोजन, ४ नं वडा कार्यालयको सह–प्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ४ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो । 

 

गएको वैशाख २३ गते देखि २७ गतेसम्म भएको प्रतिस्पर्धामा पुरुष तर्फ उपविजेता बनेको आकाशे ब्वाइज क्लब मन्थलीले ९० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमहरू हिल भ्यू एफसी रामेछाप र मिलन चोक यूथ क्लब प्रीतिले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको हो । 

 

त्यस्तै, महिला तर्फ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका उमाकुण्ड ४ प्रीतिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो भएको छ । उसले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता प्रिती–४ ले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

महिला तर्फ तृतीय र चौथो बनेका उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी यूथ क्लब प्रीतिले क्रमशः  नगद २०–२० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाको शिक्षा शाखाले प्रस्ट पारेको हो । गएको सोमबार देखि सुरु भएको प्रतियोगितामा पुरुष तर्फ   आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझी र महिला तर्फ उमाकुण्ड ४ प्रीतिका साने वाइवा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले क्रमशः नगद रु ५ र ३ हजारसहित ट्रफी प्राप्त गरेका छन् । 

 

त्यस्तै पुरुष तर्फ सर्वाधिक गोलकर्ता आकाशे ब्वाइज क्लब मन्थली कै करण खड्का र महिला तर्फ ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर सर्वाधिक गोलकर्ता घोषित भएकी छिन् । पुरुष तर्फका गोलकर्ताले ३ हजार र महिला तर्फका गोलकर्ताले नगद २ हजारसहित ट्रफि प्राप्त गरेका छन् । 

 

पुरुष तर्फ उत्कृष्ट गोलकिपर तथा खेलको म्यान अफ दि म्याच चण्डेश्वरी यूथ क्लबका निशान थापा मगर घोषित हुँदै खेलाडीहरूले रु ३ हजार नगद सहित ट्रफी र म्यान अफ दि म्याच हुने खेलाडीले नगद रु २ हजार प्राप्त गरेका छन् ।  

 

महिला तर्फ उत्कृष्ट गोलकिपर भुजीकी झरना नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी यूथ क्लबकी गोलकिपर सलिना खुलाल घोषित भएका छन् । उनीहरूले क्रमशः रु २ हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

 

मौसम तथा अन्य प्राविधिक पक्षलाई ध्यानमा राख्नै आइतबार समापन गर्न सक्ने गरी आयोजित प्रतियोगिता शनिवारै सकिए लगत्तै भएको ३५ वर्ष उमेर भन्दा माथिको भुजी गुप्तेश्वर र प्रीतिबिचको भेट्रान टिमको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो । सो खेलमा भुजी गुप्तेश्वरले प्रीतिलाई २–१ ले हराउँदै नगद २१ हजार पुरस्कार प्राप्त गरेको छ । 

 

तस्बिर स्रोत पालिकाको शिक्षा शाखा

 

मिलन घिमिरे (बि क)
| बैशाख ११, २०८२ बिहिबार