लोक सेवा पासपछिको पहिलो अनुभव : ‘न रुनु, नहाँस्नु’

गण्डकी प्रदेश लोक सेवामा पास भएर मिति २०८१ असोज ११ गते सिफारिस पत्र बुझ्न काठमाडौँबाट पोखरातर्फ लागियो । जताततै बाढी–पहिरो गएको, जनधन क्षति भएको समाचारले त्रसित बनाइरहेको थियो । बाहिर मौसमले साथ नदिएता पनि भित्र–भित्रै वसन्त ऋतु चल्दै थियो । फूलहरू ढकमक्क फक्रँदै थियो । मन नाचिरहेको थियो । कोइलीको मिठो धुन गुन्जिरहेको जस्तो लाग्दै थियो ।
“पूरा भयो सपना मेरो” भन्ने गीतमा टिकटक, फोटाहरूको क्लिप र क्लिक, नयाँ मानिसहरूसँगको चिनापर्ची खुब मज्जासँग जमेको थियो । अब त जागिर पक्का भयो । मेरा दिन अनि दिनचर्या फेरिने भयो भन्ने लागेको थियो । सोही दिन सिफारिस कार्यालय रहेको जिल्ला उत्तरी गोरखा तर्फ लागियो । सदरमुकाम भन्दा अलि माथिसम्म गाडी जाने रहेछ । त्यहाँदेखि छङछङ गर्दै झरेका झरना, सेताम्मे हिमाल प्रकृतिको सुन्दरता अनुभव गर्न पाइन्थ्यो ।
विशाल त्यसमाथि डरलाग्दो ठू–ठुला चट्टानले बनेका पहाडबिचबाट बुढी गण्डकीको तिरैतिरमा साँघुरो बाटो बनेको थियो । ढुङ्गा टाउकोमा खस्ने डरले हाम्रा पाइलाहरू छिटो छिटो अगाडि बढ्दै थिए । खुइय्य काढ्दै, तिर्खा मेटाउँदै, थकान मार्दै हिँडिरह्यौ.....हिँडिरह्यौ । अन्ततः ६÷७ घण्टाको पैदल यात्रापछि गन्तव्य स्थान पालिका पुगियो ।
अब त सजिलो होला नि भन्ने आशा थियो । त्यो आशा नि विकट वडामा खटाए पश्चात् धुवाँ जसरी उडेर विलीन भएर गयो । उमेरले एक बिस पनि नकटेको राष्ट्रसेवकको रूपमा सानो काँधमा ठुलो जिम्मेवारी आएकोमा गदगद् भने यसै थिए । नाम निस्कँदाको उत्साहलाई घर तिरै छोडी, मान्छे भन्दा गह्रौँ झोला बोकेर स्या–स्या गर्दै लागियो पद स्थापना गरिएको वडातर्फ । ढुङ्गाको छानाले छाएको, छोए ढल्छ कि जस्तो तर बलिया ढुङ्गाकै गारोबाट बनेका घरहरूमा कतै–कतै वृद्ध आमाबुबाहरू घाम ताप्दै, डोको बुन्दै गरेका देखिन्थे ।
आयोगबाट पास भएको पत्र बुझेपछि जुनी मानन्धरसहितका
नभएका युवा जमात जति विदेश उडिसकेका, भएका अलिअलि युवा हलो, कुटो, कोदालो गर्दै बसेका गाउँ एकदम सुनसान थियो । खच्चड र गोरुका घाँटीमा बाँधिएका घण्टीको टिनटिन आवाज, २/४ बच्चाहरूको चुलबुलेपन भन्दा गाउँमा कुनै चालचुल थिएन ।
वर्षौँ पहिलेदेखि नखोलिएको जस्तो लाग्ने अस्तव्यस्त कार्यालय, धुलोको भुमरी, कुना काप्चामा माकुराको जालो, अव्यवस्थित फाइलिङ, डुङडुङती गनाउने शौचालय बाहेक केही छैन । मैले फर्मुला बनाएर, मरिमेटी घोकेर लोक सेवामा लेखेको उत्तर फिल्मको ‘स्क्रिप्ट’ जस्तो रहेछ । जसको वास्तविकता व्यवहारिकतामा प्रत्यक्ष देखेँ, भोगेँ ।
जसो-तसो मन बुझाएर क्वाटरमै बस्ने निर्णय गरियो । आखिर जता बसे पनि होटेलका साहुलाई धनी बनाउँदा बनाउँदै दुर्गम भत्ता कता–कता बेपत्ता हुने अवस्था थियो । दर्शन ढुङ्गा जस्तो भात, मसला राख्न बिर्सिए जस्तो दाल, हिउँ भन्दा चिसो, अचार २ टुक्रा, आलु पनि,दुई त्यान्द्रो साग, ठुस्स सुर्ती गनाएको पातलो सिरक र सिरानी, अनि चिसो छिँडिँलाई आफ्नो सम्झिनै पर्ने बाध्यता थियो।
नुन प्रति केजी १०० रुपैंया तिरेर किन्न पर्ने एकदमै दर्दनाक अवस्था थियो । मैले अर्थशास्त्रमा पढेको मागको पूर्ण बेलोचदारको नियम चरितार्थ भएको थियो ।
खाद्यान्नको मूल्य भन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने, आकस्मिक रूपमा कोही जटिल बिरामी परे हेलिकप्टरमा लैजानु पर्ने, त्यो पनि भनेको समयमा नपाउने कस्तो विडम्बना । स्थानीय सरकारको तर्फबाट गर्न सक्ने विकास कार्यहरूलाई समन्वयमार्फत द्रुत गतिमा लैजान सकिए ती जनताहरूको ओठमा हाँसो, मुहारमा चमक, दिलमा खुसी र आत्मामा सन्तुष्टि मिल्थ्यो कि ?
‘थिङ्क पोजेटिभ, बि पोजेटिभ’, ‘डु पोजेटिभ’ भनी आफैँले आफूलाई कति सम्झाइरहनु कसरी सम्झाउनु भन्ने हुन्थ्यो । दुःख, खुसी, नयाँ ठाउँ, मान्छे, जागिरको अनुभव, रौनकता, एक्लोपना, सामूहिकता, बेवास्ता, डर, भोक, तिर्खा, विकटताको सङ्गमपूर्ण यात्रामा थिएँ । छेउबाट चुरुक्क आवाज आए पनि थङग्रङ्ग मुटु काप्ने ठाउँमा बस्दै गर्दा कहिलेकाहीँ भिडियो कलमा ममीको रुन्चे हाँसो देखेर चित्त बुझाइरहन्थे ।
लेखक जुनी मानन्धर सुनापति गाउँपालिका–५, निवासी हुन् । उनीहाल भक्तपुर जिल्ला अदालत, भक्तपुरमा खरिदार पदमा कार्यरत रहेकी छिन् ।